‘अर्को वर्षसम्म क्रिकेट म्याच हुँदैन’ : शोएब अख्तर



कराची, (एजेन्सी) ।

पूर्व पाकिस्तानी तेज बलर सोएब अख्तरले अर्को वर्षसम्म क्रिकेट प्रतियोगिता नहुने बताएका छन् ।

अख्तरले युट्यूब च्यानलमार्फत् कोरोना भाइरसबाट आक्रान्त बनेको विश्व साधारण अवस्थामा फर्किन अझै समय लाग्ने भएकोले अर्को वर्षसम्म क्रिकेट प्रतियोगिता नहुने बताएका हुन्। केहि दिन अघि मात्र भारत र पाकिस्तानबीच च्यारिटी म्याच खेलिनुपर्छ भनेर एकाएक क्रिकेटको माहौल तताएका अख्तरले मंगलवार फेरि यस्तो अभिब्यक्ति सार्वजनिक गरेका हुन्।

अख्तरले यो महामारीलाई नियन्त्रण गर्न सहज नभएकोले क्रिकेट गतिविधिहरु पुनः सुचारु हुन समय लाग्ने बताए। उनले भने,–“यदि क्रिकेट कहिले सुचारु हुन्छ भनेर कसैले मलाई सोध्छ भने म अर्को वर्ष मात्र हुन्छ भनेर जवाफ दिनेछु। जबसम्म कति मान्छे कोरोनाबाट संक्रमित छन् भनेर पत्ता लाग्दैन तबसम्म क्रिकेट प्रतियोगिता कसरी आयोजना गर्न सकिन्छ र।” उनले यो भाइरसका कारण विश्वले कम्तिमा पनि एक वर्ष समस्या झेल्ने बताए। “म आशा गर्छु हामी सबै मिलेर यस्तो मुश्किल घडीको सामना गर्न सक्षम हुनेछौ।”–उनले भने।

अख्तरले केहि दिन अघि मात्र कोरोनाविरुद्धको लडाईमा फन्ड जुटाउन भारत र पाकिस्तानबीच तीनवटा अन्तर्राष्ट्रिय वान डे म्याचको सिरीज खेलाउने प्रस्ताव राखेका थिए। उनले उक्त सिरीजबाट संकलित रकम दुवै देशका कोरोना पीडितहरुलाई सहयोग गर्न उपयोगी हुने बताएका थिए। तर, शोएबको उक्त प्रस्तावमा भारतीय लेजेन्ड क्रिकेटरहरु कपिलदेव, सुनील गावास्कर र मदन लालले विमति राखेका थिए। कपिलदेवले भारतलाई पैसाको आवश्यकता नभएकोले खेलाडीहरुको ज्यान जोखिममा राख्न नहुने प्रतिक्रिया दिएका थिए। त्यसैगरी सुनील गावास्करले पनि वर्तमान परिस्थितिमा भारत–पाक सिरीज सम्भव नभएको बताए।

प्रतिक्रिया दिनुहोस्