डेनमार्कमा ठूला पर्दा राखेर खेल सञ्चालनमा ल्याउने



कोपेनहेगन, (एजेन्सी)

फुटबल बन्द रंगशालामा खेलाउने भएपछि रंगशालाबाहिरको भाग उचित स्थान हुने देखिएको डेनिस सुपर लिगाको टोली एफसी मिडटिल्यान्डले जनाएकोे छ ।
डेनमार्कमा खालि रंगशालामा खेल खेलाउने तयारी भइरहेको छ ।

यसै सन्दर्भमा मिडटिल्यान्डले दर्शकलाई ल्याउने जुक्ति निकालेको हो । क्लबले रंगशालाका गाडी पार्क गर्ने ठाउँमा ठूला दुई पर्दा राख्ने जनाएको छ । त्यहाँ २ हजारभन्दा बढी गाडी पार्किङ गर्न सकिन्छ । यसले गाडीमै बसेर हेर्नेको संख्या १० हजारभन्दा बढी हुन सक्ने पनि क्लबले विश्वास गरेको छ ।

क्लबको अनुसार गाडीको रेडियोमार्फत् टिभी कमेन्टरी ट्युन गर्न लगाउनेछ । प्रत्यक्ष प्रसारणमा कमेन्टरी सुन्दै ठूला पर्दामा खेलको मजा लिन सकिने पनि क्लबले जनाएको छ । क्लबका बजार निर्देशक प्रेबेन रोकजाएरले बताए– ‘हामीहरु यसका लागि कडा मेहनत गरिरहेका छौं, यदि सम्भव भएमा दर्शकले खेलको मजा पनि लिनेछन् र खेलाडीमा पनि आफ्ना प्रशंसकले कताबाट हेरिरहेका छन् भन्ने अनुभव हुनेछ ।’

उनले डेनिस अखबार बीटीलाई बताए– ‘कोरोना भाइरसले केही परिवर्तन गर्दैन, हामीले जे गर्नुपर्ने हो त्यो नयाँ सोचका साथ नै गर्नुपर्छ । हामीले आ–आफ्ना गाडीमा क्लबको रंग लगाउनेलाई पनि पुरस्कार दिनेछांै, यदि कसैले उत्कृष्ट रंगमा सजाएका छन् भने ।’ अबे समर्थकका लागि भने छुट्टै स्थानमा पार्क गर्नुपर्छ ।

डेनिस लिगले सुपरलिगा १७ मे देखि पुनः सञ्चालनमा ल्याउन हेरिरहेको छ । यस सिजनलाई उनीहरुले जुलाइको अन्त्यमा समाप्त गर्नुपर्नेछ । डेनमार्कका प्रधानमन्त्री मेटे फ्रेडेडरिकसनले गत शुक्रबार देशले कडाइमा ध्यान दिने घोषणा गरेपछि सुपरलिगा शुरु गर्ने योजना बनेको हो । तर सामाजिक दूरी भने कायमै गर्नुपर्ने हुन्छ ।

त्यहाँको विद्यालयहरु गत सातादेखि खुलेको थियो भने ब्युटी सेलोन, हेयरडे«सर र डेन्टिस्ट सोमबारदेखि खुलेका छन् । डेनमार्कमा कोरोना भाइरसका कारण ३ सय ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ । सो देशमा कोरोनाको संक्रमण हुनेको संख्या ७ हजारभन्दा बढी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्