मनकारी नेपाली खेलाडी



कविरस शर्मा, काठमाडौं ।

गत मंसिरमा नेपालमा सम्पन्न १३औं दक्षिण एसियाली खेलकुदमा पदक जितेका नेपाली खेलाडीद्वय एलिना महर्जन र किरण साउदले लक डाउनबाट समस्यामा परेकाहरुलाई सहयोग गर्ने तत्परता देखाउनु नेपाली खेलकुद क्षेत्रकै गर्वको विषय बनेको छ।

देशको इज्जत बढाउने खेलाडीले देशवासी समस्यामा पर्दा समेत सहयोग गरेको घटना धनी देशमा खेल्ने खेलाडीले मात्र गरेको हामीले सुन्ने गरेका र्छौं। तर, नेपाली खेलाडीले पनि त्यसको अनुसरण गरेको घटना विरलै छन्। नेपालमा प्रायगरी खेलाडी जीवनलाई अभावको पर्यायको रुपमा हेरिने गर्छ। तर, ह्रदयलाई ठूलो बनायो भने त्यस्तो पर्याय पनि मित्थ्या साबित हुन्छ भनेर प्रमाणित गर्न अग्रसर छन् यी मनकारी खेलाडीद्वय।

केही दिनअघि राष्ट्रिय टेबल टेनिस खेलाडी एलिना महर्जन र राष्ट्रिय उसु खेलाडी किरण साउदले कोरोना भाइरस ९कोभिड(१९० प्रभावित नेपालीहरुलाई सहयोग गर्ने घोषणा गरे। महर्जनले दक्षिण एसियाली खेलकुद ९साग० मा कास्य पदक जितेर पाएको पुरस्कारको आधा पैसा कोरोना भाइरस संक्रमणका कारण दुःखमा परेकाहरुलाई सहयोग गर्ने भएकी छन्। केही दिनअघि आफूले पाएको पुरस्कार रकमको केही अंश कोरोनाका कारण प्रत्येक दिन बढ्दै गएको दिनदुखीहरुको निम्ति सहयोगमा खर्चने बताएकी थिइन्।

एलिनाले १३औँ सागमा नेपालका लागि कांस्य जितेकी थिईन्। सो बापत सरकारले घोषणा गरेको रकम उनले गत बिहिबार मात्र हात पारेकी थिईन्। सरकारी घोषणा अनुसार कांस्य पदक जितेबापत उनले ३ लाख पाएकी छन्। त्यसमध्ये १ लाख कोरोना प्रभावितका लागि खर्च गर्नेछिन्। उनले भनिन्,(‘अहिलेको विकराल अवस्थामा मैले पाएको पुरस्कारको आधा रकम दिनदुखीलाई खर्चन पाए मनले सन्तोष पाउनेछ। मलाई यस्तै काम गर्दा आनन्द मिल्छ।

त्यस्तै राष्ट्रिय उसु खेलाडी किरण साउदले पनि १३औं सागमा पदक जितेवापत सरकारले दिएको पुरस्कारको केही अंश कोरोना महामारीबाट पिडित नेपालीहरुलाई सहयोग गर्ने बताएका छन्।

सागमा कांस्य पदक जितेर ३ लाख पुरस्कार पाएका उनले अहिले देशको अवस्था देखेर एकदमै दुःख लागेको बताए। उनले कोरोना रोकथाम र महामारीका कारण समस्यामा परेकालाई व्यक्तिगत रुपमै सहयोग गर्ने भनेका छन्। सामाजिक सञ्जालमा दुःख पाएकाहरुको बारेमा जानकारी पाउँदा सार्‍है पीडा भएकोले प्राप्त पुरस्कार रकममध्ये ५० हजार रुपैयाँ कोरोना महामारी र लकडाउनका कारण समस्यामा परेकाहरुको सहयोगमा खर्चने बताए।

नेपाली सेनाका २७ वर्षीय किरण विगत चार वर्षदेखि उसुको राष्ट्रिय टिममा छन्। १३औं सागमा घरेलु भूमिमा उनले स्वर्ण जित्ने लक्ष्य राखेका थिए। तर, खेल्ने क्रममा घाइते भएपछि उनले कांस्य पदकमा चित्त बुझाउनुपरेको थियो। श्रीलंकाली खेलाडीविरुद्ध खेलको अन्तिम क्षणतिर लिगामेन्ट च्यातिएपछि उनको सपना अधुरै रह्यो।

प्रतिक्रिया दिनुहोस्