स्थगित यूरोपेली लिगका सर्वाधिक गोलकर्ता



कविरस शर्मा,काठमाडौँ ।

कोरोनाको प्रकोपका कारण विश्व फुटबल जगत् पूर्ण रुपमा ठप्प भएको एक महिना नाघिसकेको छ । कोरोना महामारीको संक्रमण फैलिन नदिन विश्व फुटबलको सर्वोच्च निकाय फिफा र युरोपेली फुटबलको सर्वोच्च निकाय यूईएफएले फुटबल गतिविधि नगर्न जारी गरिएको विज्ञप्तिसँगै युरोपली फुटबलले विश्राम पाएको हो ।

त्यसलगत्तै यूरोकप २०२० अर्को वर्षका लागि सारियो भने बेलारूसमा खेलिएको घरेलु फुटबल लिग अपवादको रुपमा रह्यो । त्यसबाहेक विश्व फुटबलको पावर हाउसको उपमा पाएका अन्य युरोपेली राष्ट्रका लिग भने ठप्प नै भयो । ठप्प भएको महिना दिन बितिसक्दा पनि यस सिजनको यूईएफए च्याम्पियन्स लिग यूरोपा लिग लगायत इंग्लिश प्रिमियर लिग, स्पेनिस ला लिगा, इटालियन सिरी ए, जर्मन बुन्देसलिगा, फ्रेन्च लिग वान लगायत अन्य थुप्रै घरेलू फुटबल लिग पुनः सुचारु हुने मिति शंकाको घेराभित्र नै छ ।

तर, ती लिगहरु ठप्प हुनुअघि केही खेलाडीहरुले आ–आफ्नो घरेलु लिगमा सर्वाधिक गोल गर्दै गोलकर्ता सूचीको अग्रपंक्तिमा नाम लेखाएका छन् । जसमध्ये इंग्लिश प्रिमियर लिग क्लब लेस्टर सिटीका जेमी भार्दी, स्पेनिस ला लिगा क्लब बार्सिलोनाका लियोनेल मेसी, इटालियन सिरी ए क्लब लाजियोका सिरो इम्मोबाइल, जर्मन बुन्देसलिगा क्लब बायर्न म्यूनिखका रोबर्ट लेवान्दोव्स्की र फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का क्लीयन एम्बाप्पे र विस्साम वेन वीडर संयुक्त रुपमा आफ्नो क्लबको सर्वाधिक गोल गर्ने सूचीको अग्रस्थानमा छन् ।

जेमी भार्दी 

कोरोना भाइरसका कारण गत मार्च १३ देखि इंग्लिश प्रिमियर लिग स्थगित रहेको छ । स्थगित हुनुअघि लेस्टर सिटीका गोलमेसिन उपमा पाएका जेमी भार्दी जारी सिजनका सर्वाधिक गोलकर्ता सूचीको अग्रस्थानमा उभिएका छन् ।

प्रिमियर लिगको २९औं चरणको खेल टुङ्गिँदासम्म लेस्टर सिटी ५८ गोल गर्दै ५३ अंक सहित अंक तालिकाको तेस्रो स्थानमा रहे पनि भार्दीले आफ्नो नाममा १९ गोल लेखाइसकेका छन् उनलाई १७ गोल गरेका आर्सेनलका पिरे एमरिक ओबामेयांगले पछ्याइरहेका छन् ।

लियोनेल मेसी 

वर्तमान विश्व फुटबलका चिरपरिचित नाम हुन् लियोनेल मेसी । कोरोनाका कारण गत १२ मार्चदेखि स्पेनिस ला लिगा स्थगित रहेको छ । त्यसअघि ला लिगाको २७औं चरणका खेलहरु सम्पन्न भएका थिए ।

२७ खेलबाट ५८ अंकसहित लिग तालिकाको शीर्षस्थान ओगट्ने क्रममा बार्सिलोनाले ६३ गोल गरेका छन् । जसमध्ये ६ पटकका फिफा वर्ष खेलाडी लियोनेल मेसीले १९ गोल आफ्नो नाममा लेखाइसकेका छन् । उनको निकटम प्रतिस्पर्धी रुपमा १४ गोल गरेका रियल मेड्रिडका करिम बेन्जेमा छन् ।

सिरो इम्मोबाइल 

 कोरोनाले सबैभन्दा क्षति पु¥याएको युरोपेली राष्ट्र हो इटाली । कोरोना भाइरसबाट नराम्ररी प्रभावित इटालीको घरेलु फुटबल लिग सिरी ए गत ९ मार्चबाट स्थगित छ । त्यसअघि २६औं चरणको म्याच खेलेर ६३ अंकसहित लिग तालिकाको दोस्रो स्थानमा रहेको टोली हो लाजियो ।

त्यही क्लबले गरेको ६० गोलमध्ये २७ गोलमा आफ्नो नाम लेखाउने खेलाडी हुन् सिरो इम्मोबाइल । उनको निकटम प्रतिस्पर्धीका रुपमा रहेका छन् युभेन्ट्सका विश्व चर्चित खेलाडी क्रिस्टियानो रोनाल्डो । रोनाल्डोले २६ म्याचमा २१ गोल गरिसकेका छन् ।

रोबर्ट लेवान्दोव्स्की 

जारी सिजनको जर्मन बुन्देसलिगामा २५औं चरणको खेल सकिए लगत्तै कोरोनाका कारण लिग स्थगित गरियो । गत १३ मार्चदेखि स्थगित लिग केही सातापछि बन्द रंगशालामा गराउने कुरा चलिरहे पनि कुनै ठोस निर्णय भने सार्वजनिक भएको छैन ।

तर, लिग स्थगित हुनुअघि २५ खेलबाट ५५ अंक जोडेर लीग तालिकाको शीर्ष स्थानमा रहेको बायर्न म्युनिखका रोबर्ट सर्वाधिक गोलकर्ताको शीर्षस्थानमा छन् । जारी सिजनमा बायर्नले ७३ गोल गरिसक्दा रोबर्टले २५ गोलमा आफ्नो नाम लेखाएका छन् । लिगको तेस्रो स्थानमा रहेको आरबी लेप्जिगबाट २१ गोल गरेका टीमो वार्नरले रोबर्टलाई पछ्याइरहेका छन् ।

क्लीयन एम्बाप्पे/विस्साम वेन वीडर  

कोरोना महामारीका कारण गत १३ मार्चदेखि फ्रान्सेली फुटबलको घरेलु प्रतियोगिता लीग–वान स्थगित छ । जारी सिजनको लिगमा २७औं म्याच खेलेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ६८ अंकसहित लिग तालिकाको शीर्ष स्थानमा छ ।

त्यसक्रममा पीएसजीले विपक्षीविरुद्ध गरेको ७५ गोलमध्ये १८ गोलमा आफ्नो नाम लेखाउने खेलाडी हुन् क्लीयन एम्बाप्पे । उनीसँगै सर्वाधिक गोल गर्ने सूचीमा संयुक्त रुपमा उभिएका छन् मोनाकोका विस्साम वेन वीडर । अंक तालिकामा २८ खेलबाट ४० अंक जोडेको मोनाकोका विस्साम वेन वीडरले पनि समान १९ गोल गर्दै क्लीयन बाप्पेलाई पछ्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्