दर्शकबिना युएस ओपन नहुने सम्भावना



न्यूयोर्क, एजेन्सी।

कोरोना भाईरसको चरम मार खेपिरहेको न्युयोर्क सहरमा बिना दर्शक युएस ओपन टेनिस प्रतियोगिता नहुने सम्भावना बढेको छ। बिश्वका चार मध्येका एक ग्राण्ड स्ल्याम टेनिस प्रतियोगिता युएस ओपन आगामी अगष्ट ३१ देखि न्यूयोर्कमा शुरु गर्ने तय भएको छ। तर न्यूयोर्क कोराना भाइरसका कारण अमेरिकाको सबैभन्दा बढी प्रभावित मध्येको एउटा सहर बनेको छ।

न्यूयोर्कमा १० हजार मान्छेले यो भाइरसका कारण ज्यान गुमाइसकेका छन् भने दुई लाख भन्दा बढी संक्रमित फेला परिसकेकका छन्। न्यूयोर्कमा लकडाउन मे १५ सम्मका लागि बढाइएको छ। गत बर्षको युएस ओपन झण्डै ७ लाख ५० हजार मान्छेहरुले न्यूयोर्कको खेलस्थल फ्लसिङ्ग मिडोजमा गएर प्रत्यक्ष रुपमा हेरेका थिए। यस बर्ष बन्द रंगशालामा युएस ओपन गराउने बिषयमा युएसटिएका प्रमुख कार्यकारी माइक डाउजले सम्भावना कम रहेको बताएका छन्।

उनले भने,-“अहिलेको स्थितिमा हामीले कुनै पनि छलफललाई टेबलबाट हटाइसकेको छैनौं। तर, बन्द रंगशालामा प्रतियोगितामा नहुने सम्भावना भने उच्च रहेको छ।” युनाइटेड स्टेट्स टेनिस एशोसिएसन (युएसटिए) ले प्रतियोगिता सञ्चालन गर्न सुरक्षित हुने वा नहुने बिषयमा अध्ययन गर्नका लागि मेडिकल परामर्श समुह पनि गठन गरेको छ।

“मेडिकल बिज्ञहरुले पूर्ण रुपमा सुरक्षित समाधान अगाडी नल्याएसम्म हामीले कुनै विकल्प देखेको छैनौं”- डाउजले भने। बन्द रंगशालामा प्रतियोगिता गराईदा पनि धेरै मानिसहरुको सक्रियता रहने छ। युएसटिए प्रतियोगिता तोकिएको समयमै गर्नका लागि तत्पर रहेपनि यसअघि युएस ओपनको मिति सार्ने संकेत भने गरेको थियो। अमेरिकामा संक्रमित हुने हरुको संख्या ६ लाख नाघिसकेको छ। युएस ओपनको निर्णय जुन अघि लिइने छैन भने बन्द रंगशालामा खेलाइने हो भने प्रतियोगिता नहुने प्रबल सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्