म्याट हेनरीसँगको अनुबन्ध रद्द



लन्डन, (एजेन्सी)

इंग्लिस काउन्टी टीम केन्टले कोरोना भाइरस महामारीका कारण न्युजील्यान्डका चर्चित बलर म्याट हेनरीसंगको करार रद्द गरेको छ ।
कोरोनाको कारण केन्ट क्लबले हेनरीसँग इंग्लिस काउन्टी च्याम्पियनसिपका सुरूआती सात म्याचका लागि गरिएको अनुबन्ध रद्द गरेको बताइएको हो ।

योसंगै कोरोनाका कारण यस वर्ष इंग्लिस काउन्टी च्याम्पियनसिपमा खेल नपाउने हेनरी चौथो खेलाडीसमेत बनेका छन् । हेनरीभन्दा अघि नाथन लियोन, चेतेश्वर पुजारा र माइकल नेसरले यस वर्षको इंग्लिस काउन्टी क्रिकेट नखेल्ने पकका भएका थिए ।

२८ वर्षीय हेनरीले केन्टसँग सन् २०१८ पछि पहिलो पटक करार गरेका थिए । कोरोना प्रकोपका कारण संयुक्त अधिराज्यमा २८ मे सम्म कुनै पनि प्रकारको क्रिकेट प्रतियोगिता गर्न बन्देज गरिएपछि यी चार जना चर्चित खेलाडी खेल्नबाट वञ्चित भएका हुन । केन्ट क्लबका क्रिकेट निर्देशक पाउल डाउन्टेनले भने,–‘२८ मे सम्म कुनै म्याच नखेलिने पक्का भएकाले हाम्रो टिमले हेनरीसँगको करार रद्द गरेको हो ।

हाम्रो यस निर्णयलाई स्वीकार्नु भएकोमा हामी हेनरीलाई धन्यवाद दिन चाहन्छौ । साथै भविष्यमा उनी हाम्रो टिममा जोडिनेछ भनेर कामना पनि गर्छौं ।” म्याट हेनरीले सन् २०१८ मा केन्टबाट खेलेका थिए ।

त्यतिबेला उनले शानदार प्रदर्शन गर्दै ११ म्याचमा ७५ विकेट लिएका थिए । हेनरी गत वर्षदेखि फर्ममा छन् । उनले विश्वकपको सेमीफाइनलमा भारत विरुद्ध आफ्नो राष्ट्रलाई जिताउन अहम भूमिका निभाएका थिए । उनले उक्त म्याचमा ३७ रन खर्चेर ३ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्