विम्बलडनले बीमाबाट १ सय ४१ मिलियन पाउने



लन्दन, एजेन्सी

कोरोना भाइरसका कारण रद्द गरिएको विम्बलडन टेनिस २०२० का आयोजकले १ सय ४१ मिलियन डलर बिमामार्फत् क्षतिपूर्ति पाउने भएका छन्।

विश्वकै सबैभन्दा लामो ईतिहास बोकेको टेनिस ग्रान्डस्लामबाट परिचित विम्बलडन टेनिस कोरोनाका कारण यो वर्ष रद्द भएपछि आयोजक अल इंग्ल्यान्ड क्लबले बिमामार्फत् उक्त रकम पाउने भएका हुन्। आयोजकले बितेका १७ वर्षदेखि प्रतियोगिताको बिमा गर्दै आएका थिए।

तर यो वर्ष कोरोना महामारीका कारण प्रतियोगिता नै रद्द भएपछि बिमा कम्पनीबाट आयोजकले उक्त लाभ पाउने भएको हो।

सार्सको महामारी पश्चात् सन् २००३ देखि आयोजकले प्रतियोगिताको बिमा गर्न थालेका हुन्। जसअनुसार आयोजकले हरेक वर्ष २ मिलियन डलर बुझाउंदै आएका छन्।

यस वर्षको २९ जून देखि १२ जुलाईसम्म आयोजना हुनुपर्ने विम्बल्डन गत हप्ता कोरोना भाइरसको प्रकोपका कारण रद्द गरिएको थियो।

दोस्रो विश्वयुद्धपछि पहिलो पटक रद्द गरिएको यस प्रतियोगिता खाली स्टेडियमा भएपनि सुचारु गर्नुपर्ने माग उठेको थियो। तर, आयोजकले खेलाडी, अफिसियल तथा प्रतियोगितासँग सम्बन्धित अन्य ब्यक्तिहरुको स्वास्थ्यलाई मध्येनजर गर्दै प्रतियोगिता नै रद्द गर्ने निर्णय लिन बाध्य बने।

विम्बल्डन २०२० रद्द भएका कारण आयोजकलाई ३८ सय करोड नेपाली रुपैयाँ बराबरको रकम नोक्सान भएको अनुमान गरिएको छ। तर, बिमामार्फत रकम पाउने भएपछि आयोजकले राहतको सास भने फेरेका छन्।

आयोजक कमिटीका प्रमुख रिचर्ड लुईसले बिमामार्फत् रकम मिलेपनि अल इंग्ल्यान्ड क्लबलाई नोक्सानको पूर्णरुपमा भर्पाई सहज नहुने बताएका छन्।

उनले भने,–“हामी भाग्यमानी छौं, प्रतियोगितालाई महामारीविरुद्ध बिमा गराउँदै आएकोमा तर यो सम्पूर्ण समस्याको समाधान भने हुन सक्दैन।”

वर्षको दोस्रो ग्रान्ड स्लाम टूर्नामेन्ट फ्रेन्च ओपनलाई भने आयोजकले रद्द गर्नु सत्ता स्थगित मात्र गरेका छन्। फ्रेन्च ओपन अब यूएस ओपन सम्पन्न भएको एक हप्तापछि गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्