साग पदकधारीको रकम खातामा पठाइयो



फिरोज राजोपाध्याय, काठमाडौं

नेपालमै सम्पन्न भएकोे १३औं दक्षिण एसियाली खेलकुद (साग)मा पदक जित्ने खेलाडीको खातामा पूर्वघोषित नगद पुरस्कार बुधबार पठाइएको छ ।
यो रकम सरकारले घोषणा गरेको ५ महिनापछि पदकधारी खेलाडीको खातामा रकम जम्मा भएको हो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले जनाएअनुसार पहिलो चरणमा पदक जित्ने विभिन्न खेलाडीको खातामा कुल ५ करोड रुपियाँ जम्मा गरेको छ । यसमध्ये केही पदक जित्ने खेलाडीको खातामा चैत मसान्तमा पठाइएको थियो । बाँकी खेलाडीको पुरस्कार रकम बुधबार पठाइएको हो ।

राखेपले जनाएअनुसार पहिलो र दोस्रो चरण गरेर १ सय ७९ जना खेलाडीको खातामा रकम पठाएको थियो । जसमा पहिलो चरणमा भन्नाले चैत मसान्तमा ९२ पदक विजेता खेलाडीको खातामा ३ करोड ६३ लाख रुपियाँ पठाएको थियो । दोस्रो चरणमा ८७ खेलाडीको खातामा ४ करोड ८२ लाख रुपियाँ जम्मा गरेको राखेपले प्रस्ट पारेको छ । प्रशिक्षकका लागि भने तत्काल नपाउने पनि जनाएको छ ।

पेस्की फछ्र्योटको काम बाँकी रहेकाले विभिन्न खेलका प्रशिक्षकले तत्कालै नपाउने भएका हुन् । राखेपका एक पदाधिकारीले बताएअनुसार लकडाउन सकिएपछि कार्यालय खुलेपछि मात्रै उहाँहरूले पुरस्कार पाउनेछन् ।

यसअघि सरकारले चैत मसान्तसम्म सबै पदकधारी खेलाडीको खातामा पुरस्कार रकम जम्मा हुने घोषणा गरेको थियो । राखेपले खेलाडीको बैंक खाता नम्बर संकलन गरेको थियो । खेलकुद मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपियाँ निकासा गर्न सिफारिस गरेको थियो । खेलाडीको खातामा १८ करोड ३७ लाख रुपियाँ जाने देखिएको छ । बाँकी प्रशिक्षकको खातामा हाल्नुपर्नेछ । मन्त्रालयले ४ सय ९१ खेलाडी र बाँकी प्रशिक्षक गरेर ६ सय ३८ जनाको खातामा रकम जम्मा गर्नुपर्नेछ ।

१३औं सागमा पौडीतर्फ महिला स्विमर गौरिका सिंहले व्यक्तिगतमा सर्वाधिक ६ पदक जितेकी थिइन् । उनले कीर्तिमानसहित ४ स्वर्ण, १ रजत र १ कांस्य जितेकी थिइन् । त्यस्तै २ स्वर्ण जित्नेमा करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य रहेका छन् । त्यस्तै गल्फका सुवास तामाङले पनि २ स्वर्ण जितेका थिए ।

सागको इतिहासमै नेपालले उल्लेखनीय सफलता हासिल गरेको थियो । नेपालले ५१ स्वर्ण जितेर १३औं सागलाई स्वर्णिम बनाएको थियो । यसै सफलतालाई देखेर प्रधानमन्त्री केपी शर्मा ओलीले पुरस्कार रकमको घोषणा गर्नुभयो ।

जसमा व्यक्तिगततर्फ स्वर्ण जित्ने खेलाडीलाई ९ लाख, रजत पदक जित्नेलाई ६ लाख र कांस्य पदक जित्नेलाई ३ लाख नगद पुरस्कार प्रदान गर्ने प्रधानमन्त्रीले घोषणा गर्नुभएको थियो । यस्तै उहाँले एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखको दरले पुरस्कार दिने पनि घोषणा गर्नुभयो । त्यस्तै टिमतर्फ स्वर्ण जित्ने टोलीलाई ६ लाख, रजत जित्नेलाई ४ लाख र कांस्य जित्नेलाई २ लाख प्रदान गरिने भएको थियो ।

प्रशिक्षकतर्फ स्वर्ण जिताउने प्रमुख प्रशिक्षकलाई ५ लाख र सहायक प्रशिक्षकलाई ३ लाख नगद दिइने घोषणा गरिएको थियो । यस्तै रजततर्फ प्रमुख प्रशिक्षकलाई ३ लाख र सहायक प्रशिक्षकलाई २ लाख तथा कांस्यतर्फ प्रमुख प्रशिक्षकलाई २ लाख र सहायक प्रशिक्षकलाई १ लाख प्रदान गर्ने जनाएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्