ठप्प खेलकुदप्रति ट्रम्पको चिन्ता



न्युयोर्क, (एजेन्सी)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र विश्वभर ठप्प भएका खेलकुदप्रति चिन्ता व्यक्त गरेका छन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वभर ठप्प भएका खेलकुद गतिविधि चाँडोभन्दा चाँडो सुचारु होस् भन्ने चाहना व्यक्त गरेका छन् । अमेरिकाको बेसबल, फुटबल, बास्केटबल, रग्बी र हकी लिग स्थगित भएकोमा उनले चिन्ता व्यक्त गरेको बताइएको छ ।

कोरोना भाइरस, (कोभिड–१९) का कारण विश्वभरि जुलाई–अगस्तसम्म लगभग सबै खेल प्रतियोगिता रद्द अथवा स्थगित छन् । ट्रम्पले मंगलबार भने– ‘हामीले आफ्नो सबै खेल प्रतियोगितालाई यथास्थानमा फर्काउनुपर्नेछ । मैले १४ वर्षदेखि बेस बल लिग हेरिसकेको छु ।’

नेसनल बास्केटबल एसोसिएसन (एनबीए) को युटाह जज टिमका खेलाडी रूडी गोबेर्टमा गत ११ मार्चमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसलगत्तै अमेरिकामा एनबीए, नेसनल हकी लिग, फुटबल लिग र बेसबल लिगलगायत सबै खेल प्रतियोगिता स्थगित गरिएको थियो ।

खाली स्टेडियममा बेसबल लिग गर्ने योजना
केही समयअघि बेसबल लिगका ३० टिमहरुलाई अमेरिकाको एरिजोना अथवा एरिजोना र फ्लोरिडा राज्यमा संयुक्त रुपमा भेला गराउने योजना कुरा सार्वजनिक भएको थियो । साथै यस सीजनका बाँकी म्याचहरु खाली स्टेडियमा खेलाउने योजना पनि अघि सारिएका छन् ।

मेजर लीग सकर (एमएलबी) का आयुक्त रोब मेनफ्रेडले एउटा टेलिभिजन च्यानललाई तत्कालै कुनै कदम नचालिए पनि धेरै योजनाहरुमा भने विचार भइरहेको जानकारी गराएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्