काटाना सपना बुन्दै बेलारुसमा पुगे



लन्डनक, (एजेन्सी)

फुटबल खेल आयोजना भइरहेको बेलारुस एक मात्र युरोपियन राष्ट्र हो । कोभिड १९ को कारण विश्वभरिका खेल स्थगित अवस्थामा बेलारुसले फुटबल आयोजना गरिरहेको छ । यसैले पनि केही युवा खेलाडी बेलारुसमा खेल्न लालायित भइरहेका छन् । यसमध्ये केन्याका खेलाडी मोहमद काटानाले त्यहाँ खेल्ने निर्णय लिएका छन् । अप्रिलको शुरुआतमा उनी भिशेशायाको स्कोलेभीची एसटीआईमा आबद्ध भएका थिए ।

केन्या प्रिमियर लिगको बान्डारी एफसीका २० वर्षीय आक्रमक मिडफिल्डरले १६ टिम रहेको बेलारुस प्रिमियर लिगमा साढे दुई वर्षको सम्झौता गरेका छन् । हाल विश्वमा बेलारुस लिगसँगैं बुरुन्डी, ताजिकिस्तान र निकारागुआमा पनि फुटबल चलिरहेको छ । कान्टानाले बीबीसी स्पोर्ट अफ्रिकालाई बताए–युरोपमा खेल्ने रहर खतरनाक छ । कठिन समयमा पनि मेरो भविष्यको संकेत उज्यालो छ । केही खेलाडी घरमै बसिरहेको अवस्थामा मैले युरोपियन करियर भर्खरै शुरुआत गर्दै छु ।

बेलारुसमा पहिलो कोरोनाभाइरस केस फेबु्रवरी २८ मा देखिएको थियो । यसपछि धेरै केस देखिए पनि बेलारुसका राष्ट्रपति एलेक्सान्डर लुकाशेन्कोले खेल्ने क्रम जारी राख्ने आदेश दिएका छन् । राष्ट्रपतिले उनका नागरिकलाई जीवन सामान्यसँग बिताउन र उनीहरुलाई भोड्का पिउनु र सउनामा जान आदेश दिएका छन् । विश्वकै सरकार प्रमुखहरुले सोसल डिस्टेन्ट गर्न भनिरहँदा उनले भने यस्तो कुनै आदेश जारी गरेका छैनन् । राष्ट्रपति स्वयम्ले पनि केही साताअघि हकी खेलेका थिए ।

काटानाले नयाँ लिग शुरु हुन नसक्ने विश्वास गरेका थिए । उनले भने–‘बाहिर गएर खेल्नु डर लाग्छ । लिग शुरु हुन सक्दैन जस्तो लाग्छ । तर म विश्वास गर्छु कि मलाई भगवानले कोरोनाभाइरसबाट बचाउनेछ ।’

काटानाले उनको फुटबल क्षमता सन् २०१३ र २०१७ बीचमा कतार र सेनेगलका अन्तर्राष्ट्रिय एकेडेमीमा विकास गरेका थिए । उनले एकेडेमी सन् २०१७ मा छाडेर पोर्चुगलको स्पोर्टिङ लिस्बनमा साढे एक वर्षका लागि आबद्ध भएका थिए ।

बेल्जियमको रोयल एन्टवेर्पले उनलाई जुलाई २०१८ मा अनुबन्ध गर्न चाहेको थियो । तर उनको डकुमेन्टको प्रक्रिया लामो भइदिँदा ट्रान्सफर विन्डो बन्द भइसकेको थियो । उनको बेल्जियममा खेल्ने धोको पुरा हुन सकेन ।
ग्रीसको पान्थानाइकोसमा ट्रायल दिएर उनी आठ महिनासम्म खेल्न पर्खेका थिए ।

 

काटानाले खेल्न नपाएपछि घरमा फर्केका थिए । उनले भने– ‘यो निकै कठिन परिस्थिति थियो । पान्थानाइकोसका समर्थकले मलाई मन पराएका थिए । म युवा अवस्थामै युरोपमा खेल्ने भनेर गएको थिएँ तर घर फर्कनुपर्दा त्यो मेरो लागि निकै गाह्रो क्षण भएको थियो ।

मेरा बुबाले मलाई भन्नुहुन्थ्यो कि महान फुटबलर बन्नेछन् । उहाँले मलाई बीचमा खेलिरहेको हेर्नुहुन्थ्यो । बुबाले मलाई फुटबल खेलेको हेर्न चाहनुभएको थियो ।

६ महिनापछि काटानाले केन्या प्रिमियर लिग क्लब बान्डारीमा सेप्टेम्बर २०१९ मा आबद्ध भएका थिए । उनले एउटै मात्र खेल खेलेका थिए । डिसेम्बरमा प्रशिक्षणका लागि युरोपमा उनी गएका थिए । तर धेरै समयपछि उनी बेलारुसमा सेटल भएको महसुस गरेको पनि उनले बताए । उनले बताए–‘मेरो सपना भनेको युरोपमा उत्कृष्ट अफ्रिकन खेलाडी बन्ने हो र च्याम्पियन्स लिग जित्ने हो ।’

प्रतिक्रिया दिनुहोस्