पाकिस्तानमा दोस्रो वरिष्ठ खेलकर्मीको निधन



पेशावर,एजेन्सी ।

विश्वभर उत्पात मचाइरहेको कोरोना भाईरस ९कोभिड–१९० का कारण पाकिस्तानमा दोस्रो वरिष्ठ खेलकर्मीले ज्यान गुमाएका छन्।सोमवार राती पूर्व फर्स्ट क्लास क्रिकेटर जफर सरफराजको कोरोना संक्रमणका कारण ५० वर्षको उमेरमा निधन भएको छ। गत मंगलवार गरिएको स्वास्थ्य परिक्षणमा उनमा कोरोना पोजेटिभ देखिएको थियो। यसअघि कोरोनाका कारण नै गत साता मात्र पाकिस्तानका पूर्व लेजेन्डरी स्क्वाश खेलाडी आजम खानको इंग्ल्यान्डमा निधन भएको थियो।

योसँगै कोरोनाका कारण पछिल्लो ३ हप्ताभित्र विश्व खेल जगतका ७ वरिष्ठ खेलकर्मीले ज्यान गुमाइसकेका छन्। यसअघि इटालीका ५६ वर्षीय पूर्व धावक दोनातो साबिया, स्विट्जरल्यान्डका ७६ वर्षीय पूर्व आईस हकी लेजेन्ड रोजर शाप्पो, फ्रेन्च फुटबल क्लब रीम्सका ६० वर्षीय डाक्टर बर्नार्ड गोन्जालेज, इंग्ल्यान्डको लंकाशायर क्रिकेट क्लबका ७१ वर्षीय अध्यक्ष डेभिड हजकिस, फ्रान्सको ओलम्पिक डी मार्शल फुटबल क्लबका ६८ वर्षीय पूर्व अध्यक्ष पेप दिओफ र पाकिस्तानका ९५ वर्षीय स्क्वाश लेजेन्ड आजम खानको कोरोनाका कारण मृत्यु भएको थियो।

अलराउन्डर जफर बायाँ हातबाट ब्याटिंग र बलिंग दुवै गर्थे। उनले सन् १९८८ देखि १९९४ सम्म प्रथम श्रेणीको क्रिकेटमा योगदान गरेका थिए। पेशावरबाट खेल्ने क्रममा उनले १५ म्याचमा ६ सय १६ रन बनाएका थिए। जफरले देशको लागि ६ वानडे मा ९६ रन जोडेका थिए। सन् १९९४ मा खेलाडी जीवनबाट सन्यास लिएपछि उनी पेशावरको सीनियर र अन्डर–१९ टिमको कोच बनेका थिए। उनका भाई अख्तर सरफराजले पनि १९९७/९८ मा पाकिस्तानबाट खेल्ने क्रममा ४ वान डे म्याचमा ६६ रन जोडेका थिए।

यसअघि पाकिस्तानका स्क्वाश लेजेन्ड आजम खानको पनि गत २८ मार्चमा निधन भएको थियो। आजमले सन् १९५९ देखि १९६२ सम्म लगातार ४ पटक ब्रिटिश ओपन उपाधि जितेका थिए। आजम विश्वकै सर्वश्रेष्ठ स्क्वाश खेलाडीमध्येका एक थिए।

प्रतिक्रिया दिनुहोस्