खेल टिमका धनाढ्यमा बालमर शीर्षमा



वासिंगटन, (एजेन्सी)

विश्वप्रसिद्ध फोब्र्स म्यागजिनले जारी गरेको विश्वका २० सर्वाधिक धनाढ्य टिम मालिकको ताजा सूचीमा माइक्रोसफ्टका पूर्व सीईओ र अमेरिकी बास्केटबल टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टिभ बालमर शीर्ष स्थानमा रहेका छन् । नेटवर्थ ५२.७ अर्ब डलर अर्थात् ६.३२ लाख करोड नेपाली रुपियाँबराबरको सम्पत्तिसहित उनले उक्त सूचीको शीर्षस्थान ओगटेका हुन् ।

गत वर्ष बालमरको नेटवर्थ ४१.२ अर्ब डलर रहेको थियो । यसपटक उनको आम्दानी ११.५ अर्ब डलरले वृद्धि भएको हो । गत वर्षको तुलनामा बालमरको सम्पत्ति २८ प्रतिशतले वृद्धि भएको जनाएको छ । उनी विश्वकै धनाढ्य व्यक्ति सूचीको पनि ११औं स्थानमा छन् ।

यता सन् २०१९ मा उक्त सूचीको पहिलो स्थानमा रहेका रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भने दोस्रो स्थानमा झरेका छन् । अम्बानी इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स टिमका मालिक हुन् ।

अघिल्लो वर्ष ५० अर्ब डलर नेटवर्थसहित अम्बानी यस सूचीको पहिलो स्थानमा रहेका थिए। यो वर्ष विश्वभर बढ्दै गएको आर्थिक मन्दीका कारण तेल र ग्याससँग सम्बधित अम्बानीको कम्पनीको सेयरमा गिरावट आएकाले नेटवर्थ पनि १३ अर्ब डलरबाट ३६.८ अर्ब डलरमा घटेपछि उनले दोस्रो स्थानमा चित्त बुझाउनुपरेको हो ।

हाल विश्वको सेयर बजारमा २० प्रतिशतले गिरावट आए पनि सफ्टवेयर कम्पनी माइक्रोसफ्टको शेयर भने ३० प्रतिशतले वृद्धि भएको छ । जसका कारण क्लाउड कम्प्युटिंगसँग जोडिएको कम्पनीलाई धेरै फाइदा पुगेको छ । यसैकारणले कम्पनीका पू्र्वसीईओ बालमरको सम्पत्ति ११ अर्ब डलर बढेको हो ।

२०१४ मा उनले डोनाल्ड स्टर्लिंगसँग २ अर्ब डलरमा बास्केटबल टिम क्लिपर्स किनेर खेल व्यापारमा पाइला टेकेका हुन् । त्यसपछि उनले आफ्नो टिमका लागि धेरै लगानी गरेका छन् । बालमरले हालसालै काभी लियोनार्ड र पाउल जर्जलाई मोटो रकममा आफ्नो क्लबमा अनुबन्ध गरेका छन् ।

यति मात्र होइन, उनले आफ्नो टिमका लागि अलग्गै स्टेडियम र इन्टरटेनमेन्ट सेन्टर बनाउनका लागि एउटा कम्पनीसँग ४० करोड डलरमा जग्गा खरिद गरेका छन् । उक्त स्थानमा स्टेडियम बनाउन करिब १ अर्ब डलर खर्च हुने बताइएको छ ।

आम्दानी गर्ने विषयमा मात्र केन्द्रित छैनन्, सामाजिक कार्यमा पनि बालमरको तत्परता सह्रानीय छ । उनले कोरोना भाइरसविरुद्धको लडाइँमा पनि मन खोलेर सहयोग गरिरहेका छन् । उनले हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको औषधि अनुसन्धानका लागि १ अर्ब २० करोड नेपाली रुपियाँबराबर रकम सहयोग गरेका छन् । कोरोनाको औषधि अनुसन्धानमा काम गरिरहेका युनिभर्सिटी अफ वासिंगटनलाई रिसर्चका लागि १० मिलियन डलर सहयोग गरेका हुन् ।
फोब्र्सका अनुसार विश्व खेल जगत्मा बास्केटबल टिम अन्यको तुलनामा आर्थिक रुपले अगाडि रहेको जनाएको छ । खेल टिम रहेको विश्वका शीर्ष २० धनाढ्यमा बालमरसहित ६ जना व्यक्ति बास्केटबलसंग सम्बन्धित रहेबाट यो स्पष्ट हुन्छ ।

ती सबै अमेरिकी बास्केटबल लीग एनबीएका टोलीका मालिक हुन् । जसमध्ये डेनभर नगेट्स क्लबका स्टेनलीक्रोएनके (१० अर्ब डलर), ब्रुकलिन नेट्सक्लबको जोसेफ साई (१० अर्ब डलर), मेम्फिस ग्रिजलिजक्लबको रोबर्ट पेरा (७ अर्ब डलर), क्लेभेल्यान्ड क्याभेलियर्सक्लबका डेनिएल गिल्बर्ट (६.५ अर्ब डलर), डेट्रोयट पिस्टन्सक्लबका टोम गोरेस (५.७ अर्ब डलर), मियामी हिटक्लबका मिकी एरिसन (५.१ अर्ब डलर) रहेका छन् ।

फोब्र्सले अहिले विश्वका ६० अर्बपतिहरु विश्वकै ठूलो स्पोर्ट्स लीगका ८० टिमहरुका मालिक भएको उल्लेख गरेका छन् । यद्यपि, कोरोना भाइरसका कारण यी टिमको नेटवर्थमा भने यसपटक गिरावट आएको छ । बितेका ५ साताभित्र तिनको नेटवर्थ ४ सय ५५ अर्ब डलरबाट घटेर ३ सय ८३ अर्ब डलरमा झरेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्