विश्वका २० सर्वाधिक धनाढ्य टिम मालिकको सूचीमा बालमर पहिलो



वाशिन्टन,एजेन्सी ।

विश्वप्रसिद्ध फोर्ब्स म्यागाजिनले जारी गरेको विश्वका २० सर्वाधिक धनाढ्य टिम मालिकको ताजा सूचीमा माईक्रोसफ्टका पूर्व सीईओ र अमेरिकी बास्केटबल टिम लस एन्जेल्स क्लिपर्सका मालिक स्टीभ बालमर शीर्ष स्थानमा रहेको जनाएको छ। नेटवर्थ ५२.७ अर्ब डलर अर्थात् ६.३२ लाख करोड नेपाली रुपैयाँ बराबरको सम्पत्ति सहित उनले उक्त सूचीको शीर्षस्थान ओगटेका हुन।

गत वर्ष बालमरको नेटवर्थ ४१.२ अर्ब डलर रहेको थियो। यसपटक उनको आम्दानी ११.५ अर्ब डलरले बृद्धि भएको हो। गत वर्षको तुलनामा बालमरको सम्पत्ति २८ प्रतिशतले वृद्धि भएको जनाएको छ। उनी विश्वकै धनाढ्य ब्यक्ति सूचीको पनि ११औं स्थानमा छन्।

यता सन् २०१९ मा उक्त सूचीको पहिलो स्थानमा रहेका रिलायन्स इन्डस्ट्रीजका अध्यक्ष मुकेश अम्बानी भने दोस्रो स्थानमा झरेका छन्। अम्बानी इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) अन्तर्गत मुम्बई इन्डियन्स टिमका मालिक हुन्।

अघिल्लो वर्ष ५० अर्ब डलर नेटवर्थसहित अम्बानी यस सूचीको पहिलो स्थानमा रहेका थिए। यो वर्ष विश्वभर बढ्दै गएको आर्थिक मन्दीका कारण तेल र ग्याससँग सम्बधित अम्बानीको कम्पनीको शेयरमा गिरावट आएकाले नेटवर्थ पनि १३ अर्ब डलरबाट ३६.८ अर्ब डलरमा घटेपछि उनले दोस्रो स्थानमा चित्त बुझाउनु परेको हो।

हाल विश्वको शेयर बजारमा २० प्रतिशतले गिरावट आए पनि सफ्टवेयर कम्पनी माईक्रोसफ्टको शेयर भने ३० प्रतिशतले वृद्धि भएको छ। जसका कारण क्लाउड कम्प्यूटिंगसँग जोडिएको कम्पनीलाई धेरै फाइदा पुगेको छ। यसैकारण कम्पनीका पू्र्व सीईओ बालमरको सम्पत्ति ११ अर्ब डलर बढेको हो।

२०१४ मा उनले डोनाल्ड स्टर्लिंगसँग २ अर्ब डलरमा बास्केटबल टिम क्लिपर्स किनेर खेल ब्यापारमा पाईला टेकेका हुन्। त्यसपछि आफ्नो टिमका लागि उनले धेरै लगानी गरेका छन्। बालमरले हालसालै काभी लियोनार्ड र पाउल जर्जलाई मोटो रकममा आफ्नो क्लबमा अनुबन्ध गरेका छन्।

त्यति मात्र होइन, उनले आफ्नो टिमका लागि अलग्गै स्टेडियम र ईन्टरटेनमेन्ट सेन्टर बनाउनका लागि एउटा कम्पनीसँग ४० करोड डलरमा जग्गा समेत खरीद गरेका छन्। उक्त स्थानमा स्टेडियम बनाउन करीब १ अर्ब डलर खर्च हुने बताइएको छ।

आम्दानी गर्ने विषयमा मात्र केन्द्रित छैनन्, सामाजिक कार्यमा पनि बालमरको तत्परता सरहानीय छ। उनले कोरोना वाईरसविरुद्धको लडाईमा पनि मन खोलेर सहयोग गरिरहेका छन्। उनले हाल विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरसको औषधि अनुसन्धानका लागि १ अर्ब २० करोड नेपाली रुपैयाँ बराबर रकम सहयोग गरेका छन्। उनले कोरोनाको औषधि अनुसन्धानमा काम गरिरहेका यूनिभर्सिटी अफ वाशिन्टनलाई रिसर्चका लागि १० मिलियन डलर सहयोग गरेका हुन्।

फोर्ब्सका अनुसार विश्व खेलजगतमा बास्केटबल टिम अन्यको खेल टिमको तुलनामा आर्थिक रुपले अगाडी रहेको जनाएको छ। खेल टिमका मालिक रहेको विश्वका शीर्ष २० धनाढ्यमा बालमरसहित ६ जना ब्यक्ति बास्केटबलसंग सम्बन्धित रहेबाट यो स्पष्ट हुन्छ।

ती सबै अमेरिकी बास्केटबल लीग एनबीएका टोलीका मालिक हुन्। जसमध्ये डेनभर नगेट्स क्लबका मालिक स्टेनली क्रोएनके (१० अर्ब डलर), ब्रुकलिन नेट्स क्लबका जोसेफ साई (१० अर्ब डलर, मेम्फिस ग्रिजलिज क्लबका रोबर्ट पेरा ९७ अर्ब डलर), क्लेभेल्यान्ड क्याभेलियर्स क्लबका डेनिएल गिल्बर्ट (६.५ अर्ब डलर, डेट्रोयट पिस्टन्स क्लबका टोम गोरेस ९५.७ अर्ब डलर), मियामी हीट क्लबका मिकी एरिसन (५.१ अर्ब डलर )रहेका छन्।

फोर्ब्सले अहिले विश्वभरिका ६० अर्बपतिहरु विश्वकै ठूलो स्पोर्ट्स लीगका ८० टिमहरुका मालिक भएको उल्लेख गरेका छन्। यधपि, कोरोना भाईरसका कारण यी टिमको नेटवर्थमा भने यसपटक गिरावट आएको छ। बितेका ५ साताभित्र तिनको नेटवर्थ ४ सय ५५ अर्ब डलरबाट घटेर ३ सय ८३ अर्ब डलरमा झरेको बताईएको छ।

प्रतिक्रिया दिनुहोस्