दुःखी परिवारलाई गोल्डेनगेटको राहत



काठमाडौं, (नेस)

कोरोना भाइरस (कोभिड¬–१९) का कारण कठिनाइमा परेका दैनिक मजदुरी गरी गुजारा चलाउँदै आएका मजदुर, गरीब र विपन्न परिवारलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रमेशकुमार सिलवाल प्रमुख कार्यकारी अधिकृत रहेको शैक्षिक संस्था गोल्डेनगेट इन्टरनेसनल कलेजले शुक्रबार राहत सामाग्री वितरण गरेको छ ।

गोल्डेनगेटसहित हिसान र त्रिकुटी कोलोनीको सहयोगमा काठमाडौं महानगरपालिका–९ का ५ सय ५० परिवारलाई राहत सामग्री वितरण गरियो । त्यसमा चार सय खाद्य राहत सामग्री गोल्डेनगेटले उपलब्ध गराएको हो । सदस्य–सचिव सिलवाल हिसानका अध्यक्ष पनि हुन् ।

वडा ९ कार्यालयको समन्वमा बत्तीसपुतलीस्थित गोल्डेनगेटमै सदस्य–सचिव सिलवाल, वडाध्यक्ष रामकृष्ण श्रेष्ठलगायतले लक्षित वर्गलाई राहत सामग्री वितरण गरे । वितरण गरिएका राहत सामग्रीमा चामल, चिउरा, नुन, तेल, दाल, मस्यौरा र मन्जन रहेका छन् ।

सदस्य–सिलवालले वर्तमान अवस्थामा सक्नेहरुले कठिनाइमा परेकालाई आ–आफ्नो तर्फबाट सक्दो सहयोग गर्न आग्रह गरे । वडाध्यक्ष श्रेष्ठले योसहित चार चरणमा राहत वितरण गरिएको जानकारी दिँदै हालसम्म १ हजार ७ सय १५ परिवारलाई राहत वितरण गरिसकेको बताए ।

उनले वडा आफैले ४ सय ८५ परिवारलाई राहत वितरण गरेको र बाँकी विभिन्न संघ, संस्था र शुभचिन्तकको सहयोगमा राहत वितरण गरेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्