एन्फाले प्रतियोगिता स्थगित गर्ने



काठमाडौं, (नेस) 

कोरोनाका कारण नेपाली फुटबलको सर्वाेच्च निकाय अखिल नेपाल फुटबल संघ (एन्फा) ले हाल जारी रहेको ‘बी’ डिभिजन लिगसहित सबै खेलकुद प्रतियोगिताहरू स्थगित गर्ने भएको छ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको संक्रमणको कारण यसअघि नै अन्य खेल गतिविधिहरू स्थगित भए पनि ‘बी’ डिभिजन लिग चलिरहेको थियो। तर, मंगलबार राष्ट्रिय खेलकुद परिषद्ले एक हप्ताका लागि सम्पूर्ण खेलकुद गतिविधि रोक्न भन्दै निर्देशन गरेपछि एन्फाले पनि ‘बी’ डिभिजन लिग एक हप्ताका लागि स्थगित गर्ने निर्णय गरेको छ।

एन्फाले मंगलबारै विज्ञप्ति जारी गर्दै चैत ५ देखि चैत १२ गतेसम्म लागि स्थगित गर्ने निर्णय गरेको हो। यसअघि फिफा र एएफसीको निर्देशनलाई अटेर गर्दै लिग नरोक्ने एन्फाले तयारी गरेको थियो। कोरोनाको पर्वाह नै नगरी एन्फाले सोमबार मात्र ‘बी’ डिभिजन लिगको नयाँ खेल तालिका सार्वजनिक गरेको थियो। तर, मंगलबार राखेपले  कम्तीमा एक हप्ताका लागि खेल गतिविधि रोक्ने निर्देशन दिएपछि एन्फाले ‘बी’ डिभिजन लिग रोक्ने निर्णय गरेको हो।

साथै, एन्फाले अन्य फुटबल कार्यक्रमहरू, एन्फा टेक्निकल सेन्टर धरान, बुटवल टेक्निकल सेन्टरलगायत सातदोबाटोमा रहेको एन्फा एकेडेमी एन्फा सचिवालय पनि चैत १२ गतेसम्म बन्द रहने निर्णय गरेको छ। त्यस्तै, एन्फाको यही चैत १६ गते हुने भनिएको १९औं एन्फा कंग्रेस बैठक पनि अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको निर्णय गरेको छ।

कोरोनाकै कारण फिफा र एएफसीको प्रतिनिधि कंग्रेसमा उपस्थित हुन असमर्थ भएकोले स्थगित गरिएको एन्फाले जनाएको छ। एन्फाकै आयोजनामा हुन लागेको राष्ट्रिय फुटबल, महिला लिग, सी डिभिजन लिगसहित राष्ट्रिय लिग स्थगित भएका छन्। त्यस्तै, मोफसलमा गोल्डकपहरू पनि एन्फाले स्थगित गर्न सम्बन्धित जिल्ला संघलाई पत्राचार गरेसँगै सबै गोल्डकपहरू स्थगित हुन पुगेका छन्।

प्रतिक्रिया दिनुहोस्