नेयमार बेच्ने धुनमा पीएसजी



लन्डन, (एजेन्सी)

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले विश्वकै महंगा खेलाडी नेयमारलाई बेच्ने तरखर गरेको छ। पीएसजीले गत समरमा तोकेको मूल्यमा ५१ मिलियन पाउन्ड कममा नेयमारलाई बेच्न सक्ने अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूमा उल्लेख गरिएको छ।

ब्राजिली स्ट्राइकरको मूल्य १ सय ३५ मिलियन पाउन्ड हुनेछ। यो गत समरमा राखेको मूल्यभन्दा ५१ मिलियन पाउन्ड कम हो। गत समरमा नेयमारलाई फर्काउन स्पेनिस क्लब बार्सिलोनाले प्रयास गरेको थियो।

नेयमारको मूल्यमा गिरावट आएसँगै उनलाई पूर्वक्लब बार्सिलोनाले पुनः अनुबन्ध गर्न सक्ने वातावरण बनेको जनाएको छ। बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बर्टमेउ र कप्तान लियोनेल मेस्सीले गत समरमा नेयमारलाई अनुवन्ध गर्न ठूलो प्रयास गरे पनि सफल हुन सकेको थिएन। यसपटक पीएसजीले नै छाड्ने बताइसकेपछि आउँदो समरमा नेयमार पुनः स्पेनमा फर्कन सक्नेछन्।

नेयमार सन् २०१७ मा २ सय २२ मिलियन पाउन्डमा बार्सिलोनाबाट पीएसजी पुगेका थिए। पहिलो सिजन उनका लागि रमाइलो भएको थियो। तर, पछि भने उनी पेरिसमा खुसी हुन सकेनन्।

लियोनार्दाेका अनुसार पीएजसी नेयमारलाई बेच्दै अर्का युवा स्टार केलियन एमबाप्पेलाई क्लबमै राख्ने मनसायमा रहनेछ। २८ वर्षीय नेयमारले पीएसजीमा तीन सिजन ८० खेल खेल्दै ६९ गोल गर्नुका साथै ३९ असिस्ट दिएका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्