पुलिसलाई राजर्षि जनक कप



काठमाडौं, (नेस)
नेपाल पुलिस क्लबले सर्लाहीको बाग्मतीमा भएको चौथो राजर्षि जनक कप फुटबल प्रतियोगिताको उपाधि जितेको छ। आइतबार भएको फाइनल खेलमा पुलिसले पाहुना टोली सिलगुढीकोे कन्चनजंघा एफसीलाई २–१ ले हराउँदै उपाधि हात पारेको हो।
योसँगै विजेता पुलिसले १० लाख र कन्चनजंघाले ५ लाख नगद पुरस्कार प्राप्त गरे। अघिल्लो दिन पोखरामा आहा रारा कपको उपाधि गुमाएको पुलिसले सर्लाहीमा उपाधि जित्न सफल भयो। यो विभागीय टोलीको वर्षको पहिलो उपाधिसमेत हो।
टोलीका लागि पदम भट्टराई र कप्तान जुमानु राईले गोल गरेका थिए। कन्जनजंघाका लागि अमिरले गोल फर्काएका थिए। खेलको पहिलो मिनेटमा नै पदमले गोल गर्दै पुलिसलाई अग्रता दिलाएका थिए। उनले झन्डै ३० यार्डबाट गोल गरेका थिए।
खेलको १२ औं मिनेटमा जुमानुले गोल अन्तरलाई दोब्बर पारेका थिए। पदम भट्टराईको लामो फ्रिकिकमा पेनाल्टी एरियाको लाइनमा रहेका जुमानुले हेडमार्फत फिलिक गर्दै गोल गरेका थिए। १९ औं मिनेटमा अमिरले पेनाल्टी बक्सको ठीक बाहिरबाट गोल गर्दै अन्तर घटाएका थिए।

प्रतिक्रिया दिनुहोस्