युनाइटेडले वाट्फोर्डलाई हरायो



लन्डन, (एजेन्सी)

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ।

आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाइटेडले वाट्फोर्डलाई ३–० गोलअन्तरले पराजित गरेको हो। युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफोर्डमा म्यानचेस्टरलाई सानदार जित दिलाउन ब्रुनो फर्नान्डेज, एन्थोनी मार्सियल र मासन ग्रिनवुडले गोल गरेका थिए। घरेलु टोलीले गोलका लागि ४२औं मिनेटमा पेनाल्टीको सहारा लिनुपरेको थियो।

४१औं मिनेटमा ब्रुनो फर्नान्डेजलाई गोलरक्षक बेन फोस्टरले खराब ट्याकल गरेपछि युनाइटेडले पेनाल्टी पाएको थियो। जसलाई ब्रुनो आफैँले सदुपयोग गर्दै युनाइटेडका लागि पहिलो गोल गरे। पहिलो हाफसम्म १–० ले अग्रता बनाएको युनाइटेडका तर्फबाट मार्सियलले ५८औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे। ७५औं मिनेटमा मासन ग्रिनवुडले गोल गर्दै टोलीको जित ३–० ले पक्का गरे। जितसँगै म्यानचेस्टर युनाइटेडको २७ खेलबाट ४१ अंक पुगेको छ। वाट्फोर्ड २४ अंक जोडेर रेलिगेसन जोनमा छ।

आइतबारै भएको अर्काे खेलमा वुल्भ्सले पनि नर्विच सिटीमाथि ३–० को सहज जित निकाल्यो। वुल्भ्सको जितमा डिएगो जोटाले दुई तथा राहुल जिमिनेजले गोल गरे। जितसँगै वुल्भ्सको २७ खेलबाट ३९ अंक भएको छ।

त्यस्तै, अर्काे खेलमा आर्सेनलले एभर्टनमाथि ३–२ को संघर्षपूर्ण जित निकाल्यो। आर्सेनलको जितमा पिएरे इम्रिक औवामियाङले दुई तथा इडवार्डले एक गोल गरे। एभर्टनका डोमिनिक कल्भर्ट लेविन र रिचार्लीसनले गोल गरेका थिए। जितसँगै आर्सेनलले २७ खेलबाट ३७ अंक जोडेको छ।

प्रतिक्रिया दिनुहोस्