कोरोना भाइरसको चपेटामा खेल



लन्डन, (एजेन्सी)

कोरोना भाइरसको महामारीका कारण एकपछि अर्को खेल प्रतियोगिता स्थगित हुँदै गएका छन्। सोमबार दक्षिण कोरियाले ‘के लिग’ कोरोना भाइरसकै कारण नयाँ सिजनको ‘के लिग’ फुटबल स्थगित गरेको छ। हालसम्म दक्षिण कोरियामा कोभिड १९ को रोगका कारण ७ सय ६३ जनामा संक्रमण भेटिएको छ। यसमध्ये ७ व्यक्तिको मृत्यु भइसकेको जनाएको छ।

‘के लिग’ ले आपत्कालीन बोर्ड बैठक बसेपछि एक विज्ञप्ति जारी गर्दै भन्यो– ‘देशमा कोरोना भाइरसको मामिला तीव्र गतिले बढिरहेको छ। यसैले, हामीले अस्थायी रूपमा नयाँ फुटबल सिजनलाई रद्द गर्ने फैसला लिएका छौं। हाम्रा लागि नागरिक र खेलाडीको सुरक्षा र स्वास्थ्य सबैभन्दा महत्वपूर्ण छ। के लिगको यस सिजनमा १२ टोलीको सहभागिता हुने थियो र प्रतियोगिता यसै साताको अन्त्यमा शुरू हुने थियो।

कोरोना भाइरसको प्रभाव युरोपतिर पनि परेको छ, जसमा इटालीलाई सबैभन्दा बढी प्रभाव पारेको जनाएको छ।’ कोरोना भाइरसकै कारण इटालीमा पनि खेलहरू स्थगित भइरहेका छन्। दुई नागरिकको मृत्यु भएपछि इटालीको खेल मन्त्रालयले यस विषयमा सचेत बन्दै प्रतियोगिताहरू स्थगित गर्ने आदेश दिएको हो।

आइतबार हुनुपर्ने ‘सिरी ए लिग’ का ३ खेल पनि स्थगित भए। खेल मन्त्री विनसेन्जो स्पाडाफोराले बताए– ‘खेल आयोजनमा धेरै भीड जुट्ने गर्छन्। यस्तै, स्थानमा कोरोना भाइरस संक्रमण बढी हुने सम्भावना हुन्छ। यस्तो स्थितिमा स्थानीय प्रशासनको जिम्मेदारी हुन्छ कि यसलाई रोक्ने उपाय खोज्नुपर्ने हुन्छ।’ यदि मेयर, मन्त्री या क्षेत्रका स्थानीय अध्यक्षले कुनै तरिकाको निर्देशन जारी गर्छ भने त्यसलाई खेल संघले मान्नैपर्ने हुन्छ।

इटालीमा कोरोना भाइरसका कारण १ सय ६५ भन्दा बढी मानिस संक्रमित भएका छन्। लम्बार्डी र भेनेटोको उत्तरी क्षेत्रमा सम्पूर्ण आवागमनमाथि रोक लगाएको छ। त्यस्तै, इटाली सरकारले अर्को २ सातासम्म ५० हजार बासिन्दालाई विशेष अनुमतिविना इलाका छाड्न नपाउने निर्देशन दिएको छ। तर, सिरी ए क्लब इन्टर मिलानले रंगशालाका ढोका बन्द गरेर युरोप लिग खेलाउनुपर्ने अपेक्षा लिएको छ। इन्टरले युरोप लिगअन्तर्गत अन्तिम ३२ को लुडोगोरेट्सविरुद्ध खेल बिहीबार मिलानमा खेल्नुपर्ने ेसेड्युल रहेको छ।

प्रतिक्रिया दिनुहोस्