मेसीको गोल वर्षामा बार्सिलोनाको जित



लन्डन, (एजेन्सी) । 

कप्तान लियोनेल मेसीले ४ गोल गरेपछि स्पेनिस ला लिगाअन्तर्गत शनिबार भएको खेलमा बार्सिलोनाले एइबारलाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ।

मेसीले पहिलो हाफमा नै ह्याट्रिक पूरा गरेका थिए। उनले खेलको १४औं मिनेटमा इभान राकिटिचको पासमा गोल गर्दै शुरुआती अग्रता दिलाएका थिए। ३७औं मिनेटमा आर्टुरो भिडालको पासमा गोल गर्दै मेसीले अग्रता दोब्बर पारे। लगत्तै ४० औं मिनेटमा मेसीले नै बार्सिलोनालाई ३–० ले अगाडि बढाए।

दोस्रो हाफको ८७औं मिनेटमा डेब्यु गरिरहेका मार्टिन ब्रेथवेटको पासमा मेसीले चौथो गोल गरे। त्यसको दुई मिनेटपछि आर्थरले गोल गर्दै ५–० को जित पक्का गरे। उक्त जितसँगै बार्सिलोनाले २५ खेलमा ५५ अंक जोडेको छ।

एकातिर बार्सिलोनाले सानदार नतिजा निकाल्दा अर्कोतिर रियल मेड्रिड भने स्तब्ध बन्यो। शनिबार राति भएको अर्को खेलमा घरेलु टोली लेभान्टेसँग १–० ले स्तब्ध बनेपछि रियलले स्पेनिस ला लिगाको शीर्षस्थानमा पुग्ने अवसर गुमाएको छ।

हारसँगै रियलले शीर्षस्थानमा उक्लने अवसर गुमाउँदा शीर्षस्थानको बार्सिलोनासँग २ अंकले पछि परेको छ। रियलको २५ खेलबाट ५३ अंक रहेको छ। समान खेलबाट बार्सिलोनाको ५५ अंक छ। रियललाई पराजित गरेको लेभान्टे ३२ अंक जोडेर १०औं स्थानमा छ।

ला लिगामा रियलको यो दोस्रो हार हो। यसअघि रियल ला लिगाको नवौं राउन्डमा मार्लाेकासँग १–० ले पराजित भएको थियो। त्यसयता २४औं चरणसम्म अपराजित रहेको रियल लेभान्टेसँग स्तब्ध बन्न पुगेको हो। घरेलु टोलीलाई लगातार दबाबमा राखे पनि रियलले लेभान्टेको बलियो रक्षापंक्ति तोड्न सकेन। रियलले ७९औं मिनेटमा गोल व्यहोरेका थिए। लेभान्टेका जोस लुइस मोरालेसले गरेको गोल नै रियललाई स्तब्ध पार्न पर्याप्त बन्यो।

रोनाल्डोले १ हजार खेल खेले
इटालीको फुटबल लिग ‘सिरी ए’ मा शनिबार राति युभेन्टसले एसपीएएल टोलीलाई २–१ ले हराएको छ। योसँगै क्रिस्टियानो रोनाल्डोले १ हजार खेल खेल्ने विश्वका पहिलो खेलाडी बन्ने सौभाग्य पनि प्राप्त गरे। यो खेलमा उनले युभेन्टस्का लागि ३९औं मिनेटमा पहिलो गोल गरेका थिए। यसका साथै उनी ‘सिरी ए’ मा लगातार ११ खेलमा गोल गर्ने तेस्रो खेलाडी बने। यसअघि अर्जेन्टिनाका गेबरियल बातिस्टुता र इटालीका फाबियो क्वागलियारेलाले यस्तै कीर्तिमानी रचेका थिए।

म्यानचेस्टर सिटीको जित
वैकल्पिक खेलाडीका रूपमा मैदान छिरेका गेब्रिएल जेससको एक मात्र गोलको मद्दतमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा संघर्षपूर्ण जित आत्मसात् गरेको छ।

सिटीले घरेलु टोली लेस्टर सिटीलाई १–० गोल अन्तरले पराजित गरेको हो। किङ पावर स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलाई दबाबमा राखे पनि गोलका लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो। खेलको ८०औं मिनेटमा सब्सिच्युट जेससले गरेको गोल नै सिटीलाई जित दिलाउन पर्याप्त बन्यो। उनले रियल माहारेजको पासमा गोल गर्न सफल भएका थिए। जेससले मैदान छिरेको ४ मिनेटभित्र नै गोल उक्त विजयी गोल गर्न सफल भएका थिए। उनी ७७औं मिनेटमा सर्जियो अगुइरोको स्थानमा मैदानमा प्रवेश गरेका थिए।

त्यसअघि ६०औं मिनेटमा सिटीले पेनाल्टीको मौका पाए पनि सदुपयोग गर्न नसक्दा अग्रता लिनबाट चुकेका थिए। इकेए गुन्डोगानको कर्नरमा डेनिस पाएटले जानजान ह्यान्ड गरेपछि भिएआरको सहायतामा सिटीले पेनाल्टी पाएको थियो। तर, सर्जियो अगुइरोले गरेको उक्त पेनाल्टी प्रहारलाई लेस्टरका गोलरक्षक कास्पर स्माइकलले विफल पारिदिएका थिए। जितसँगै सिटीले २७ खेलबाट ५७ अंक जोडेको छ। लेस्टरको भने समान खेलबाट ५० अंक छ।
शनिबारै भएको अर्को खेलमा चेल्सीले टोटेनह्याम हट्सपरलाई २–१ ले हराउँदै तीन अंक जोड्यो।

चेल्सीको जितमा जिरोड र अलोन्सोले एक/एक गोल गरेका थिए। यता टोटेनह्यामले भने चेल्सीका रुडिगरको आत्मघाती गोलका कारण सान्त्वना एक गोल फर्काउन सफल भए। खेलको १५औं मिनेटमा गिरोडको गोलमार्फत चेल्सीले अग्रता लिएको थियो।

त्यस्तै, ४८औं मिनेटमा अलोन्सोले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे। यता ८८औं मिनेटमा एन्टोनियो रुडिगरले बल क्लियर गर्ने क्रममा आफ्नै गोलपोस्टमा बल छिराएपछि टोटेनह्यामले गोलअन्तर घटाउन सफल बने। जितपछि चेल्सीले २७ खेलबाट ४४ अंक जोडेको छ। पराजित टोटेनह्यामको भने समान खेलबाट ४० अंक छ।

त्यस्तै, अन्य खेलमा बर्नलीले बर्नमाउथलाई ३–० ले, क्रिस्टल प्यालेसले न्युक्यासललाई १–० ले र साउथह्याम्पटनले एस्टन भिल्लालाई २–० हराउँदा सेफिल्ड र ब्राइटनले १/१ गोलको बराबरी खेल्दै अंक बाँडे।

प्रतिक्रिया दिनुहोस्