गोल्डकप उपाधि जावलाखेललाई



रोशन पराजुली, हेटौंडा ।

दोस्रो बाग्मती गोल्डकपको उपाधि जावलाखेल युथ क्लबले जितेको छ। बाग्मती गाउँपालिकाको जनता माध्यमिक विद्यालयमा भएको फाइनलमा जावलाखेलले हिमालयन शेर्पा क्लबलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो।

निकै रोमाञ्चक खेलको पहिलो हाफ बराबरीमा सकिएको थियो। दोस्रो हाफको पाँचौंं मिनेटमा जावलाखेलका डाडी जुनियरले गोल गरे। उनको गोल नै निर्णायक बन्दै आफ्नो टिमलाई जित दिलाउन सफल बने।

गोल्डकप विजेताले ६ लाख नगद र उपविजेताले ३ लाख प्राप्त गरेका छन्। ‘ए’ डिभिजनको जावलाखेलले प्रतियोगिता जितेपछि ललितपुर नगरपालिकाले ४ लाख बोनस दिने घोषणा गरेको रकम पनि पक्का गरेको छ। प्रतियोगिता जितेपछि जावलाखेलले उक्त बोनससहित नगद १० लाख रुपियाँ पाएको छ। यसकारण पनि जावलाखेल थप उत्प्रेरित भएको थियो।

खेलको म्यान अफ दि म्याच जावलाखेलका दिलेन मोक्तान भए। उनले नगद ५ हजार प्राप्त गरे। प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी जावलाखेल युथ क्लबका विदेशी खेलाडी अदाम डुम्बिया भए। उनले नगद ५० हजार प्राप्त गरे।

प्रतियोगितका उत्कृष्ट फरवार्ड जावलाखेलका सुजित बुढाथोकी भए। उत्कृष्ट डिफेन्डर शेर्पाका मानबहादुर तामाङ भए भने उत्कृष्ट गोलकिपर जावलाखेलका अरूण ब्लोन भए। उत्कृष्ट मिडफिल्डर जावलाखेलका सुरज ठकुरी भए भने उत्कृष्ट कोच जावलाखेलका किशोर केसी भए। उनीहरूले १० हजार रुपियाँ प्राप्त गरे।

पहिलो बाग्मती गोल्डकपको उपाधि सिन्धुलीको हरिहरपुरगढीले हात पारेको थियो भने दोस्रो गोल्डकप उपाधि सरस्वती युवा क्लबले जितेको थियो।

प्रतिक्रिया दिनुहोस्