वाइवाइ नेपाल स्टार अब नेपाल टेलिभिजनमा



नेपाल टेलिभिजनका लागि ‘कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रालिले उत्पादन गर्न लागेको नयाँ गायन रियालिटी शो नेपाल स्टारलाई वाइवाइले प्रायोजन गर्ने भएकोछ। जसका लागि आइतबार ‘कि इन्टरटेनमेन्ट एन्ड रिसर्च प्रालिका प्रमुख रवीन्द्रकुमार रिजाल र वाइवाइको तर्फबाट चौधरी ग्रुपमा निर्वाण चौधरीबीच सम्झौता भएको छ।

सम्झौता पश्चात बोल्दै निर्वाण चौधरीले स्वदेशमा नै उत्पादन हुने रियालिटी शोमा स्पोन्सर गर्न पाउँदा खुसी लागेको बताउनुभयो। युवालाई प्रोत्साहित गर्न हाम्रो ग्रुप सधै नै तयार भएको र रियालिटी शोबाट धेरै राम्रो–राम्रो संगीतप्रेमी स्थापित हुनेमा विश्वास व्यक्त गर्नुभयो। वाइवाइले विश्वास गरेर धेरै कामहरूमा सहयोग गर्दै आएको जानकारी गराउनुहुँदै कि इन्टरटेन्टमेन्टका प्रमुख रवीन्द्रकुमार रिजालले सिजी कम्पनीलाई धन्यवाद व्यक्त गर्नुभयो।

रियालिटी शोमा निर्णायकको रुपमा रामकृष्ण ढकाल, आलोकश्री र अन्जु पन्त रहनुभएको छ। नेपाल स्टारको पहिलो चरणको अडिसन सकिएको छ। सातवटै प्रदेश र काठमाडौं गरेर ८ वटा शहरमा अडिसन लिइएको थियो। प्रतियोगिताको निर्णायक ढकालले फ्रेन्चाइज रियालिटी शोभन्दा नेपाल स्टार कमजोर नभएको बताउनुभयो।

यस रियालिटी शोमा ५० लाख पुरस्कार राखिएको नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष महेन्द्र विष्टले जनाकारी गराउनुभयो। ‘हामीले उत्कृष्ट ४ मा परेका सबैलाई पुरस्कार दिनेछौं। उत्कृष्ट चार जनाले नै जनही ५ लाख पुरस्कार पाउनु हुनेछ र, टाइटल विजेताले थप ३० लाख पुरस्कार जित्नुहुनेछ।’ अध्यक्ष विष्टको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस्