प्रधानमन्त्री कप फागनु १८ देखि



नेपालगन्ज, (नेस)
बहुप्रतिक्षित प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबलको छैटौं संस्करण फागुन तेस्रो साता आयोजना हुने भएको छ।
फागुन १८ देखि २२ गतेसम्म नेपालगन्ज रंगशालास्थित कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा नेपाल, भारत, बंगलादेश, श्रीलंका र माल्दिभ्सका शीर्ष क्लबहरूलाई सहभागिताका लागि आमन्त्रण गरिएको बुधबार पत्रकार भेटघाटमा जानकारी गराइयो। प्रतियोगिताका विजेतालाई दुई लाख, उपविजेतालाई एक लाख र तृतीय स्थान हासिल गर्नेलाई ५० हजार रुपियाँ नगद, ट्रफी र पदकले पुरस्कृत गरिने आयोजक बाँके जिल्ला भलिबल संघका अध्यक्ष टीएस ठकुरीले जानकारी गराए। विभिन्न विधामा उत्कृष्टलाई पनि नगदले पुरस्कृत गरिनेछ।
प्रधानमन्त्री कपलाई छैटौं संस्करणदेखि प्रदेश सरकारले अपनत्व लिन लागेको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी गराइन्। ‘यो प्रदेशकै नम्बर एक प्रतियोगिता भएको हुँदा प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ।’ सांसद नमुनाले भनिन्– ‘आयोजकले सोचेजस्तै साँच्चिकै अन्तर्राष्ट्रियस्तरमा प्रतियोगिताका रूपमा स्थापित गर्न कुनै कसर बाँकी राखिने छैन।’ नेपाली तथा विदेशी टिमका सम्पूर्ण खेलाडी तथा अफिसियललाई एक साता चल्ने प्रतियोगितामा आवास, भोजन र यातायातको सुविधा आयोजकले नै व्यवस्थापन गर्नुपर्ने भएको हुँदा यसको आयोजनामा नगद पुरस्कारसहित झन्डै ३० लाख खर्च हुने आयोजक संघका अध्यक्ष ठकुरीले जानकारी दिए।
प्रधानमन्त्री कपको विगतका संस्करणहरूमा नेपाल, भारत र बंगलादेशको शीर्ष टिमले सहभागिता जनाइसकेका छन्। पहिलो संस्करणमा नेपाल पुलिस क्लब, दोस्रोमा नेपाल एपीएफ क्लब, तेस्रो र चौथोमा भारतीय रेलवे टिम तथा पाँचौंमा नेपाल एपीएफ क्लब च्याम्पियन बनेका थिए।

ललललललललल

प्रतिक्रिया दिनुहोस्