व्यापार घाटा साढे ६३७ अर्ब, भारततर्फ निर्यात बढ्यो, चीनमा घट्यो



नेपाल समाचारपत्र, काठमाडौं ।
आर्थिक वर्ष २०७६/७७ को पहिलो छ महिनासम्म कुल वस्तु व्यापार घाटा ६ दशमलव १ प्रतिशतले संकुचन भई ६३७ अर्ब ४१ करोड रुपियाँ पुगेको छ। गत वर्षको सोही अवधिमा व्यापार घाटा ३२ प्रतिशतले वृद्धि भएको थियो।

समीक्षा अवधिमा कुल वस्तु आयात ४ प्रतिशतले घटेर ६९४ अर्ब ६९ करोड रुपियाँ कायम भएको छ अघिल्लो वर्षको सोही अवधिमा आयात ३० दशमलव ५ प्रतिशतले बढेको थियो भने वस्तु निर्यात २६ दशमलव १ प्रतिशतले वृद्धि भई ५७ अर्ब २८ करोड रुपियाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा निर्यात ११ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार निर्यात–आयात अनुपात ८ दशमलव २ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ६ दशमलव ३ प्रतिशत रहेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारतबाट भएको आयात ९ दशमलव १ प्रतिशतले घटेको छ। त्यस्तै चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १२ दशमलव १ र शून्य दशमलव ४ प्रतिशतले बढेको छ।

त्यस्तै वस्तुगत आधारमा कच्चा पाम तेल, हटरोल सिट, रासायनिक मल, मेसिनरी तथा पार्टपुर्जा, विद्युतीय उपकरणलगायतका वस्तुको आयात बढेको छ भने एमएस बिलेट, पेट्रोलियम पदार्थ, सुन, यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्टलगायतका वस्तुको आयात घटेको छ।

नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको तथ्यांक अनुसार भारततर्फ ४५ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीनतर्फ ८ दशमलव ५ प्रतिशत र अन्य मुलुकतर्फ ३ दशमलव ८ प्रतिशतले घटेको छ।

वस्तुगत आधारमा पाम तेल, अलैंची, जुटका सामान, आयुर्वेदिक औषधि, दाललगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, तयारी पोशाक, जुस, तामाको तारलगायतका वस्तुको निर्यात घटेको छ।

भन्सार नाकाका आधारमा निर्याततर्फ वीरगन्ज, विराटनगर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, मेची र तातोपानी भन्सार कार्यालयबाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ। आयाततर्फ सुख्खा बन्दरगाह, तातोपानी, कन्चनपुर र रसुवा भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ।

प्रतिक्रिया दिनुहोस्