‘खुट्टाले भविष्य कोर्ने एक साहसी’: विश्व पारा तेक्वान्दोमा १२ वर्षपछि रजत जित्ने दिपेश महत


घडीमा ०.८१ सेकेन्डमात्र बाँकी थियो । दक्षिण कोरियाको मुजुस्थित तेक्वान्दोवन एरिनामा दुवै खेलाडीको स्कोर २०–२० थियो । स्वर्ण पदक हातको दूरीमै थियो । त्यही निर्णायक क्षणमा हल्का नर्भस भएर म्याटमा लड्दा नियमअनुसार दुई अंक गुम्यो, र स्कोरबोर्डमा २२–२० देखियो । २२ वर्षीय नेपाली खेलाडी दीपेश महत स्वर्ण पदकबाट केवल दुई अंकले चुके । तर, त्यो हारजस्तो देखिने क्षणभित्र नेपाली खेलकुदको लामो प्रतीक्षाको अन्त्य लुकेको थियो । खेलकुदमा कतिपय हार जितभन्दा भारी र गौरवशाली हुन्छन् । दीपेशको यो रजत पदक त्यस्तै हो ।

११औँ विश्व पारा तेक्वान्दो च्याम्पियनसिप (जी१४) मा ६२ देशका करिब तीन सय अब्बल खेलाडी सहभागी थिए । त्यही भीडमा नेपालको झण्डा उचाल्दै दीपेशले १२ वर्षदेखिको पदक खडेरी तोडिदिए । यसअघि सन् २०१४ मा रुसमा भएको पाँचौँ संस्करणमा यादव कुँवरले रजत जितेका थिए । त्यसपछि नेपाली पारा तेक्वान्दोले विश्व मञ्चको पोडियम देखेकै थिएन । एक दशकभन्दा लामो मौनतापछि मुजुको म्याटबाट आएको यो खबरले नेपाली खेलकुदमा नयाँ आशा र ऊर्जा सञ्चार गरेको छ । झन् उल्लेखनीय कुरा, यो दीपेशको करियरकै पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता थियो । पहिलोपटक विश्वमञ्चमा उत्रिएको खेलाडीले सिधै फाइनलसम्म पुग्नु सामान्य उपलब्धि होइन ।

पुरुष के–४१ विधाको ५८ केजीमुनिको तौल समूहमा उनको यात्रा सुरुदेखि नै आत्मविश्वासले भरिएको थियो । सेमिफाइनलमा टर्कीका बलिया प्रतिद्वन्द्वी साबित कोसेलाई १४–४ को एकतर्फी अन्तरले हराउँदा सिंगो एरिनामा कौतुहलमय बन्यो । फाइनलमा रुसका अनुभवी खेलाडी रिनात याकुपोभ सामु थिए, ‘बेस्ट अफ थ्री’ को सास रोकिने भिडन्त । पहिलो राउन्ड दीपेशले २३–२२ ले जिते । दोस्रो राउन्ड २२–२२ को बराबरीमा टुंगियो, तर किक संख्याका आधारमा नतिजा प्रतिद्वन्द्वीको पक्षमा गयो । निर्णायक तेस्रो राउन्डमा २०–२० को बराबरी थियो, र अन्तिम ०.८१ सेकेन्डमा त्यो दुर्भाग्यपूर्ण क्षण आयो । पदक गलामा झुन्ड्याएपछि भावुक बनेका दीपेशले भने,–“म दुई अंकको अन्तरले स्वर्ण पदकबाट वञ्चित भएँ । करियरको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता भएकाले अपेक्षित नतिजा निकाल्न सकिनँ, यद्यपि आगामी दिनमा अझ सशक्त प्रदर्शनका साथ फर्कने मेरो लक्ष्य छ । तथापि, राष्ट्रका लागि पदक भित्र्याउन सक्नु आफैँमा गौरवको विषय हो ।”

यो एक दिनको चमत्कारले भएको पक्कै पनि होइन । यसको जगमा वर्षौँको पसिना छ । पुख्र्यौली घर पर्सा भए पनि दीपेशको जन्म काठमाडौँको चमतीमा भएको हो, र उनी हाल तार्केश्वरमा बस्छन् । जन्मजात शारीरिक अवस्थालाई उनले कहिल्यै कमजोरी बन्न दिएनन् । सन् २०१६ मा एक ह्विलचेयर प्रयोगकर्ता दाइसँगको भेटले उनलाई तेक्वान्दो गुरुहरूसम्म पु¥यायो । सुरुका दुई–तीन वर्ष प्रशिक्षक कल्याण कुँवरबाट आधारभूत सीप सिकेपछि उनी कविराज नेगी लामाको छत्रछायामा निखारिँदै आएका छन् । सन् २०१७ र २०१८ को काठमाडौं च्याम्पियनसिपमा रजत जितेर उनले आफ्नो आगमनको संकेत दिए । त्यसपछि सन् २०१९ को तेस्रो काठमाडौं च्याम्पियनसिप, सन् २०२५ को १३औँ कोरियन एम्बेसडर इन्टरनेसनल च्याम्पियनसिप र सन् २०२६ को छैटौँ वागमती प्रदेश आमन्त्रण मेयर कपमा स्वर्ण चुमे । सन् २०२० को टोकियो पारा ओलम्पिकका लागि जापानको ओसाकामा १० दिने विशेष तालिम लिएका उनले २०१९ मा फस्र्ट डान, २०२१ मा सेकेन्ड डान र २०२४ मा थर्ड डान ब्ल्याक बेल्टको कोरियन प्रमाणपत्र हासिल गरिसकेका छन् ।

दुवै हात दुरुस्त नभएका दीपेशको खुट्टा म्याटमा विपक्षीमाथि किक प्रहार गर्न मात्र सीमित छैन । त्यही खुट्टाले कलम समातेर उनले आफ्नो शैक्षिक भविष्य पनि कोरिरहेका छन् । बिजेश्वरीस्थित द सनसाइन सेकेन्डरी स्कुलबाट कक्षा १२ उत्तीर्ण गरेका उनी अहिले धोबीचौरस्थित पब्लिक युथ कलेजमा स्नातक तेस्रो वर्षमा पढ्दै छन् । खुट्टाले लेखेरै पहिलो र दोस्रो वर्ष पार गरिसकेका उनले चौथो वर्ष उत्तीर्ण गरे भने खुट्टाले लेखेर स्नातक पास गर्ने नेपालकै पहिलो विद्यार्थी बन्ने सम्भावना छ । बिहानै रंगशालाको कठोर अभ्यासले कलेजका सुरुका कक्षा छुट्ने गर्दा पनि स्कुल र कलेजका शिक्षकहरूले सद्भाव र प्रोत्साहन दिए, जसले उनलाई खेल र पढाइबीच सन्तुलन मिलाउन ठूलो सहयोग पु¥यायो । एउटै शरीरले एकसाथ पदकको दौड र किताबको दौड तय गरिरहेको छ ।

तर, विश्व मञ्चमा देशको झन्डा फहराउने यी होनहार खेलाडीको पर्दापछाडिको यथार्थ भने पीडादायी छ, र राज्यलाई गम्भीर प्रश्न तेस्र्याउँछ । आमा, बुबा र बहिनीसहित चार जनाको सामान्य परिवारमा हुर्किएका दीपेशको खेल जीवन परिवारको निःस्वार्थ साथ र गुरुहरूको अभिभावकत्वमै टिकेको छ । प्रशिक्षक कविराज नेगी लामा र कल्याण गुरुले नेपालकै पहिलो पारा ओलम्पिक पदक विजेता पलेशा गोवर्धन र दीपेशलाई सुरुवाती दिनदेखि नै तेक्वान्दोमा लागिरहन प्रेरित गरेका थिए । दीपेशलाई स्कुल समयमा आफैँ लिन–पु¥याउन जाने, प्रमाणपत्र र राहदानी बनाउँदा सहयोग गर्ने र सन्तानसरह हेरचाह गर्ने काम यिनै प्रशिक्षकहरूले गरे । राज्यको तर्फबाट खेलकुदमा भविष्य सुनिश्चित गर्ने कुनै आधार छैन । संघमा हाजिर हुँदा दैनिक जम्मा एक सय रुपियाँ यातायात खर्च मात्र पाइन्छ । प्रशिक्षक लामा भन्छन्, “स्वदेशमा पारा–खेलाडीहरूका लागि उपलब्ध न्यून पूर्वाधार तथा सेवासुविधाका बीच रजत पदक सुरक्षित गर्नु समग्र राष्ट्रकै लागि गौरवको क्षण हो, जसले नवोदित खेलाडीहरूलाई पक्कै पनि प्रोत्साहन मिल्नेछ ।”
अब प्रश्न दीपेशको होइन, हाम्रो हो । दैनिक एक सय रुपियाँको भरमा विश्व च्याम्पियनसिपको फाइनलसम्म पुग्ने खेलाडीलाई उचित सम्मान, आर्थिक सुरक्षा र आधुनिक प्रशिक्षणको वातावरण दिन राज्यले अझै ढिलाइ ग¥यो भने त्योभन्दा ठूलो दुर्भाग्य अरू केही हुँदैन । पदक जित्नेबित्तिकै बधाईको लहर चल्छ, तर त्यसपछि खेलाडी फेरि आफ्नै भरमा छोडिन्छन् । दीपेशका आँखामा भने दुई सपना जीवित छन्, आगामी विश्व च्याम्पियनसिपमा यसपटक गुमेको स्वर्ण चुम्ने, र विश्व तेक्वान्दोमा पारा विधाको दायरा फराकिलो भएसँगै ओलम्पिक एरिनामा नेपालको प्रतिनिधित्व गर्ने । ती सपना पूरा गर्न उनलाई पहिलेभन्दा बढी साथ चाहिन्छ ।

दीपेशको यो रजत पदक केवल धातुको टुक्रामात्रै होइन । यो नेपाली पारा खेलकुदको सम्भावनाको विस्फोट हो, जसलाई मलजल गर्ने दायित्व अब सिंगो राष्ट्रको काँधमा आइपुगेको छ । सामान्य अवरोधमै जीवनदेखि हार मान्ने युवापुस्ताका लागि पनि यो दोहोरो संघर्ष जीवन्त पाठशाला हो । दुई हात दुरुस्त नभएको एक युवा खुट्टाले किक हान्छ, खुट्टाले नै लेख्छ, र विश्वको पोडियमसम्म पुग्छ । ०.८१ सेकेन्डले उनलाई स्वर्णबाट वञ्चित ग¥यो, तर त्यही सेकेन्डभित्र नेपाली युवाले सिक्नुपर्ने ठूलो पाठ छ, परिस्थिति जतिसुकै प्रतिकूल भए पनि आत्मबल र लगनशीलताले असम्भवलाई सम्भव तुल्याउन सकिन्छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।