छोराको स्मृतिलाई ज्ञानको धरोहर बनाउँदै पूर्णबहादुर, ३५ वर्षदेखि निरन्तर बिमल पुस्तकालय


धरान।

बिमल गुरुङको सडक दुर्घटनामा परि अल्पायुमै निधन भएपछि बुबा पूर्णबहादुर गुरुङले छोराको सम्झनालाई समाजको साझा सम्पत्ति बनाए, धरानको बुद्धचोकमा पुस्तकालय स्थापना गरी साहित्य, अध्ययन र सिर्जनाको अभियानलाई निरन्तरता दिए ।

सन्तान गुमाउनुको पीडा कुनै पनि अभिभावकका लागि असह्य हुन्छ। तर त्यही पीडालाई समाजका लागि प्रेरणा र ज्ञान बाँड्ने अभियानमा रूपान्तरण गर्न सक्नु असाधारण कुरा हो। धरानका पूर्णबहादुर गुरुङले छोरा बिमल गुरुङको असामयिक निधनपछि उनको स्मृतिलाई जीवित राख्न स्थापना गरेको बिमल पुस्तकालय अहिले साहित्य, अध्ययन, सिर्जना र सामाजिक चेतनाको साझा धरोहर बनेको छ।

छोराको निधनले विक्षिप्त बनेको परिवारले उनको सम्झनामा केवल सालिक वा स्मृतिचिह्न निर्माण गरेर मात्र चित्त बुझाएन। छोराले माया गरेको साहित्य, पुस्तक र समाजसेवाको भावनालाई निरन्तरता दिने उद्देश्यले धरानको बुद्धचोकमा बिमल पुस्तकालय स्थापना गरियो। छोराको जीवन छोटो भए पनि उनले देखेको सपना, समाजप्रतिको माया र साहित्यप्रतिको लगावलाई पुस्तौँसम्म जीवित राख्ने संकल्पका साथ पूर्णबहादुरले पुस्तकालय स्थापना गरेका हुन्।

बिमल गुरुङ सानैदेखि साहित्यमा रुचि राख्थे। विशेषगरी कविता लेखनमा उनको गहिरो लगाव थियो। उनका कवितामा प्रगतिशील चेतना, सामाजिक असमानता, गरिबी, दुःख र पीडामा बाँचेका मानिसका अनुभूति अभिव्यक्त हुन्थे। समाजमा कसैले दुःख पाएको, अभाव भोगेको वा सहयोगको अपेक्षा गरेको देख्दा उनी चुप लागेर बस्न सक्दैनथे। घरमा माग्न आउनेलाई सहयोग गर्ने, विद्यालय जाने बालबालिकालाई चप्पल, जुत्ता र आवश्यक सामग्री उपलब्ध गराउने तथा भोकाएका मानिसलाई घरमै लगेर खाना खुवाउने उनको स्वभाव थियो। सर्वहारा वर्ग र दुःखीपीडितप्रतिको उनको संवेदनशीलता व्यवहारमै देखिन्थ्यो।

उनी अत्यन्त अध्ययनशील थिए। पुस्तक पढ्ने र ज्ञान हासिल गर्ने भोक यति धेरै थियो कि खल्तीमा पैसा हुँदा पुस्तक किन्थे, पैसा नहुँदा उधारोमा भए पनि पुस्तक ल्याएर पढ्थे। औपचारिक शिक्षाभन्दा समाज र जीवनबाट प्राप्त हुने ज्ञानलाई बढी महत्व दिनुपर्छ भन्ने सोचले उनलाई साहित्य र अध्ययनतर्फ आकर्षित गरेको थियो। कविता लेखनसँगै कथामा पनि उनको रुचि थियो। छोटो उमेरमै साहित्यिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउने प्रयासमा रहेका बिमलको जीवन भने २० बर्ष नपुग्दै गाडि दुर्घटनमा परेर अस्तायो ।

उनको निधनपछि छोराको अधुरो सपना पूरा गर्ने र समाजमा उनको योगदानलाई जीवित राख्ने उद्देश्यले पूर्णबहादुरले पुस्तकालय स्थापना गरे। २०४८ साल जेठमा छोराको निधन भएपछि करिब छ महिनापछि पुस्तकालय स्थापना गरिएको पूर्ण बहादुर बताउँछन् । त्यसयता पुस्तकालयले निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्दै आएको छ। हरेक वर्ष बिमलको जन्मजयन्ती तथा स्मृतिमा साहित्यिक कार्यक्रम आयोजना गरिँदै आएको छ।

पुस्तकालय स्थापना भएपछि पहिलो काव्यसङ्ग्रह प्रकाशन गरिएको थियो। त्यसपछि ‘आत्मघोषणा’ नामक दोस्रो काव्यसङ्ग्रह प्रकाशित भयो। दोस्रो सङ्ग्रहमा समेटिन नसकेका रचनालाई पाठकमाझ ल्याउने उद्देश्यले ‘सहरको प्रजागमलता’ नामक तेस्रो कृति पनि प्रकाशन तयारीमा रहेका जानकारी गराईयो । पहिलो र दोस्रो कृतिका दुईवटा संस्करणसमेत प्रकाशित भइसकेका छन्। यी प्रकाशनले बिमलको साहित्यिक व्यक्तित्व र सिर्जनालाई नयाँ पुस्तासम्म पु¥याउने काम गरेका छन्।

बिमलको स्मृतिमा पुस्तकालयले हरेक वर्ष राष्ट्रिय कविता महोत्सव आयोजना गर्दै आएको छ। यस वर्ष ३५औँ राष्ट्रिय कविता महोत्सव सम्पन्न गरेको पुस्तकालयले युवा पुस्तालाई साहित्यमा आकर्षित गर्न युवा कविता महोत्सवसमेत सुरु गरेको छ। युवाहरूको सिर्जनात्मक क्षमता पहिचान गर्ने, नयाँ प्रतिभालाई प्रोत्साहन गर्ने र साहित्यिक क्षेत्रमा नयाँ पुस्ताको सहभागिता बढाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन हुँदै आएका छन्।

पुस्तकालयले बिमल गुरुङको स्मृतिमा साहित्यिक कृति पुरस्कार तथा सम्मानको व्यवस्था पनि गरेको छ। पछिल्ला पाँच–छ वर्षदेखि प्रकाशित उत्कृष्ट कृतिलाई सम्मान गर्ने परम्परा सुरु गरिएको छ। कृति पुरस्कारको राशि अधिकतम दुई लाख रुपैयाँसम्म रहेको गुरुङले जानकारी गराउँनुभयो। यस वर्ष राष्ट्रिय स्तरमा परिचित कवि तथा निबन्धकार भूपिन व्याकुल खड्कालाई सम्मान गरिएको छ। साहित्यकारहरूको सिर्जनालाई प्रोत्साहन गर्न पुस्तकालयले विभिन्न साहित्यिक व्यक्तित्वलाई पुरस्कार तथा सम्मान गर्दै आएको छ।

पुस्तकालयमा अहिले करिब १४ देखि १५ हजार पुस्तक सङ्ग्रहित छन्। नेपाली र अंग्रेजीका अतिरिक्त हिन्दी तथा विभिन्न भाषाका साहित्यिक, सांस्कृतिक र ज्ञानवर्धक पुस्तकहरू पनि पुस्तकालयमा उपलब्ध छन्। देशका विभिन्न क्षेत्रका साहित्यकार, लेखक, शुभचिन्तक तथा सामाजिक व्यक्तित्वले प्रदान गरेका पुस्तकहरू सङ्ग्रहित गर्दै पुस्तकालयले आफ्नो ज्ञानको भण्डार विस्तार गरिरहेको छ। विभिन्न जातजाति, भाषा, संस्कृति र समुदायसँग सम्बन्धित पुस्तकहरूले पुस्तकालयलाई बहुसांस्कृतिक अध्ययनको केन्द्रसमेत बनाएका छन्।

पुस्तकालय सञ्चालनमा आर्थिक चुनौती भने उत्तिकै रहेको छ। आफ्नै भवन भए पनि पुस्तकालयको नियमित सञ्चालन, पुस्तक सङ्ग्रह, साहित्यिक कार्यक्रम र पुरस्कार व्यवस्थापनका लागि आर्थिक स्रोत जुटाउनु चुनौतीपूर्ण रहेको पुस्तकालयसँग आबद्ध व्यक्तिहरू बताउँछन्। व्यक्तिगत सम्पत्ति तथा अक्षयकोषको ब्याजबाट संस्था सञ्चालन गर्ने प्रयास हुँदै आएको छ। तर बैंकको ब्याजदर घट्दै जाँदा त्यसबाट प्राप्त हुने आम्दानीले सबै गतिविधि सञ्चालन गर्न कठिन हुँदै गएको छ।

पूर्णबहादुर गुरुङको यो प्रयास केवल छोराको नाममा संस्था स्थापना गर्ने काममा सीमित छैन। छोराले जीवनभर माया गरेको साहित्य, पुस्तक र समाजसेवाको भावनालाई संस्थागत गर्दै समाजलाई फर्काउने अभियान हो। ब्रिटिस सेनामा सेवा गरेका पूर्णबहादुरले व्यक्तिगत जीवनका अनुभव र पारिवारिक पीडालाई सामाजिक उत्तरदायित्वसँग जोडेर छोराको स्मृतिमा पुस्तकालय निर्माण गरेका हुन्।

बिमल गुरुङ आज जीवित छैनन्। तर उनले लेखेका कविता, उनले देखेका सामाजिक सपना र उनका नाममा स्थापना भएको पुस्तकालयले उनलाई जीवित राखेको छ। छोराको सम्झनामा सुरु भएको पुस्तकालयले साढे तीन दशकदेखि निरन्तर साहित्यिक गतिविधि सञ्चालन गर्नु आफैँमा एउटा प्रेरणादायी उदाहरण बनेको छ।

सन्तानको सम्झना आँसुमा मात्र सीमित नराखी हजारौँ पाठकका हातमा पुस्तक पु¥याउने, नयाँ पुस्तालाई सिर्जनामा जोड्ने र साहित्यकारलाई सम्मान गर्ने माध्यम बनाउनु पूर्णबहादुर गुरुङको विशिष्ट योगदान हो। एउटा बाबुले छोराको स्मृतिमा रोपेको ज्ञानको बिरुवा आज धरानको साहित्यिक पहिचान र सांस्कृतिक धरोहरका रूपमा हुर्किरहेको छ।

बिमल पुस्तकालयको ढोकाबाट प्रवेश गर्ने पाठकले त्यहाँ केवल पुस्तकका पाना पल्टाउँदैनन्, एउटा बाबुको छोराप्रतिको प्रेम, छोराको अधुरो सपना र समाजलाई ज्ञान बाँड्ने निरन्तर संकल्प पनि अनुभूत गर्न सक्छन्। यही अर्थमा बिमल पुस्तकालय एउटा पुस्तक राख्ने घर मात्र होइन, बिमल गुरुङको जीवन, विचार र मानवीय संवेदनालाई पुस्तौँसम्म हस्तान्तरण गर्ने स्मृतिको जीवित संस्था बनेको छ।

सिक्किम र दार्जिलिङको साहित्यिक यात्रापछि धरानमा जनमतको टोलीलाई स्वागत

धरान

जनमत वाङ्मय प्रतिष्ठान नेपालका अध्यक्ष तथा वरिष्ठ साहित्यकार मोहन दुवालको नेतृत्वमा नेपाली भाषा, साहित्य, कला र संस्कृतिबीचको सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यले भारतको सिक्किम र दार्जिलिङको साहित्यिक भ्रमणमा निस्किएको साहित्यकार, कलाकार, पत्रकार तथा सहयोगीहरूको टोली नेपाल फर्कने क्रममा धरान पुगेको छ।

नेपाल हुँदै भारतको सिक्किम र दार्जिलिङको भ्रमण सम्पन्न गरी पशुपतिनगर हुँदै फिकलबाट धरान पुगेको टोलीले धरानको भानुचोकस्थित बिमल गुरुङ पुस्तकालयका संस्थापक पूर्णबहादुर लगायत संस्थाका अन्य सदस्यहरुसँग भेटघाट गरेको थियो। सो अवसरमा संस्थापक पूर्णबहादुरले साहित्यिक टोलीलाई स्वागत तथा सम्मान गर्दै पुस्तकालय स्थापना, सञ्चालन र साहित्यिक गतिविधिसम्बन्धी आफ्ना अनुभवहरू आदानप्रदान गर्नुभएको थियो।

भेटघाटका क्रममा वरिष्ठ साहित्यकार दुवालले पूर्णबहादुरले पुस्तकालय स्थापना र पठन संस्कृतिको विकासमा पु¥याउनुभएको योगदानको मुक्तकण्ठले प्रशंसा गर्नुभयो। उहाँले पुस्तकालय ज्ञान, चेतना र सिर्जनाको महत्वपूर्ण केन्द्र भएको उल्लेख गर्दै व्यक्तिगत प्रयासबाट पुस्तकालय स्थापना गरी समाजमा अध्ययन संस्कृतिको विकासमा योगदान पु¥याउनु अनुकरणीय कार्य भएको बताउनुभयो।

साहित्यिक यात्राका क्रममा भएका यस्ता भेटघाट र अनुभव आदानप्रदानले नेपाल र भारतका साहित्यकार, स्रष्टा तथा पठन संस्कृतिबीचको सम्बन्धलाई थप आत्मीय र सुदृढ बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरिएको थियो।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।