कटाको सरस्वतीमाथि शानदार जित



नेपाल समाचारपत्र, काठमाडौं।

संकटा क्लबले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत् आफ्नो अन्तिम खेलमा सानदार जित हात पारेका छन्।बिहीबार अन्तिम चरण (१३औं चरण) को खेलमा संकटाले रेलिगेसनमा परेको सरस्वती युवा क्लबलाई ६–२ ले हरायो।

योसँगैं संकटा १८ अंकसहित सातौं स्थानमा रहेको छ। संकटाको जितमा मेसुके ओलोमोउले दुई गोल गरे भने सुवास गुरुङ, टीका गुरुङ र रोशन पहाडीले एक–एक गोल थपेका थिए। एक गोल विपक्षीका पूर्णबहादुर श्रेष्ठले आत्मघाती गोल गरेका थिए।

उता सरस्वतीका लागि काजीम बुसारीले एक गोल गर्दा एक गोल आत्मघातीका रुपमा संकटाका अर्नेस्ट टेम्पीले गरेका थिए। सरस्वतीले जारी लिगमा तीन दर्जन गोल बेहोरेको छ। ३६ गोल विपक्षीबाट प्रहार हुँदा विपक्षीलाई १० गोल गरेको सरस्वती गत १२औं चरणमै रेलिगेसनमा परेको थियो। टोलीले एक मात्र जित हिमालयन शेर्पा क्लबविरुद्ध प्राप्त गरेको थियो।

जुमानुको ह्याट्रिक

यस्तै एन्फा कम्प्लेक्समा भएको अर्को खेलमा नेपाल पुलिस क्लबले फ्रेन्डस् क्लबलाई ३–० गोलअन्तरले हराउँदा टोलीका भेट्रान खेलाडी जुमानु राईले ह्याट्रिक गरे। यो जितसँगैं पुलिस २० अंकसहित पाँचौं स्थानमा रहेको छ। तर पुलिसका लागि जावलाखेलको अन्तिम खेलको नतिजाले स्थान निर्धारित गरिनेछ।

१९ अंक रहेको जावलाखेलको आफ्नो अन्तिम खेल मनाङ मस्र्याङदी क्लबसँग आज हुँदै छ। यदि जावलाखेलले सो खेलमा हारेमा पुलिस पाँचौं स्थानमै रहनेछ। यदि जावलाखेलले जित हात पारेमा पुलिसलाई छैटौं स्थान हासिल हुनेछ। बराबरी भएमा गोलभिन्नताको आधारमा स्थान निर्धारित हुनेछ।

४६औं मिनेटमा हेमन्त श्रेष्ठको स्थानमा आएका जुमानुले तीन मिनेटमै गोल गर्न सफल भए। उनले ४९औं मिनेटमा फ्रेन्डस्का गोलकिपर देव लिम्बूले बल राम्ररी नियन्त्रण गर्न नसकेको स्थितिमा गोल गरेका थिए। दोस्रो गोल ५६औं मिनेटमा गरेका उनले ८५औं मिनेटमा ह्याट्रिक पुरा गरे। यो जारी लिगमा दोस्रो ह्याट्रिक हो। यसअघि थ्र्रीस्टारका संजोग राईले ह्याट्रिक गरेका थिए।

एपीएफ अन्तिममा चुक्यो

एपीएफले आफ्नो अन्तिम खेलमा ब्रिगेड ब्वाइज क्लबसँग १–१ बराबरी खेलेको थियो। एपीएफका लागि आशीष लामाले ४४औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए। यो उनको जारी लिगमा व्यक्तिगत नवौं गोल हो। योसँगैं उनी सर्वाधिक गोलकर्ताको सूचीमा शीर्षस्थानमा रहेका छन्।

उनीपछि सन्तोष साहुखल (च्यासल) र काजीम बुसारी (सरस्वती) ले ७/७ गोल गरेका छन्। एपीएफको सो अग्रता अन्तिममा इन्जुरी समयमा तोडिएको थियो। ब्रिगेडका विजय गुरुङले गोल गर्दै एपीएफलाई जितबाट वञ्चित गरेका थिए।

सो नतिजापछि एपीएफले ९ अंकसहित यस सिजनको लिग २औं स्थानमा रहेर सकाएको छ। ब्रिगेडले भने ९ अंक जोडेर १३औं स्थानबाट यस सिजनको लिग समाप्त गर्यो। यस सिजनमा एउटै मात्र टोली रेलिगेसनमा पर्ने भएको हुँदा ब्रिगेड रेलिगेसन हुनबाट जोगिएको छ।

प्रतिक्रिया दिनुहोस्