नेपालको अमेरिकामाथि कीर्तिमानी जित



नेपाल समाचारपत्र, काठमाडौं।

घरेलु टोली नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलामा अमेरिकामाथि ८ विकेटको जित निकाल्दा थुप्रै कीर्तिमानी रेकर्ड बनाएको छ।

बुधबार शृंखलाको अन्तिम खेलमा नेपालले पाहुना टोली अमेरिकालाई ३५ रनमै अलआउट गरेको हो। जवाफमा नेपालले ३२ बलको सामना गर्दै २ विकेटको क्षतिमा ३६ रन बनाएर कीर्तिमानी जित हासिल गर्यो। टोलीको जितमा पारस खड्काले १२ बलमा ३ चौका र १ छक्कासहित २० रन र दीपेन्द्र सिंह ऐरी ११ बलमा २ चौका र १ छक्कासहित १५ रन जोडे। ओपनर कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेल भने दुवैजना पहिलो र दोस्रो ओभरमा आउट भएका थिए।

यो जितमा लेग स्पिनर सन्दीप लामिछानेले ६ ओभरमा १ मेडनसहित १६ रन खर्चेर ६ विकेट लिएर कीर्तिमान रचे। उनी वान डे अन्तर्राष्ट्रियमा एउटै खेलमा सर्वाधिक विकेट लिने पहिलो बलर बनेका छन्। यसअघि सोमपाल कामीले सर्वाधिक विकेट लिनेको कीर्तिमान राखेका थिए। उनले गत वर्ष यूएईमा ५ विकेट लिएका थिए।

यस्तै, अर्का बलर सुसन भारीले पनि कीर्तिमान बनाए। उनले यो खेलमा ३ ओभर फ्याँक्दा १ मेडन राख्दै ५ रन खर्चेर ४ विकेट लिए। योसँगै कुल ११ विकेट लिएर उनी एउटै ओडीआई शृंखलामा सर्वाधिक विकेट लिने नेपाली बलरमा अग्रपंक्तिमा उभिएका छन्। यसअघि गत वर्ष यूएईमा भएको ओडीआई शृंखलामा सोमपालले ३ खेलमा सर्वाधिक ७ विकेट लिएर कीर्तिमान रचेका थिए।

यसैगरी, नेपालले अमेरिकालाई ३५ रनमा अल आउट गर्दै श्रीलंकाले १६ वर्षअघि राखेको कीर्तिमान बराबर गरेको छ। ३५ रन ओडीआई इतिहासकै न्यूनतम योगफल हो। सन् २००४ मा श्रीलंकाले जिम्बाबेलाई १८ ओभरमा ३५ रनमा अल आउट गरेको थियो।

नेपालले अमेरिकालाई ७२ बलमै अल आउट गर्दै विश्व कीर्तिमान बनाएको छ। योसँगै नेपाल ओडीआई इतिहासमा सर्वाधिक कम बलमा अल आउट गर्ने टोली बनेको छ। यसअघि अफगानिस्तानले २०१७ मा जिम्बाबेलाई ८३ बलमा ५४ रनमा अल आउट गरेको थियो।

तस्वीर : उजेल डंगोल

प्रतिक्रिया दिनुहोस्