लगानीका लागि अझै सहज वातावरण छैनः शेखर गोल्छा



न्युज अफ नेपाल, पर्वत ।

नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले देशमा अझै पनि लगानीको सहज वातावरण बन्न नसकेको गुनासो गर्नुभएको छ ।

पर्वत उद्योग वाणिज्य संघको ३७ औँ साधारणसभाको बुधबार कुश्मामा उद्घाटन गर्दै गोल्छाले दुई तिहाईको सरकारले पनि लगानीका लागि सहज वातावरण बनाउन नसकेको गुनासो गर्नुभएको हो ।

‘उद्योग, व्यवसाय फस्टाउने वातावरण अझै पनि बन्न सकेको छैन’ उहाँले भन्नुभयो ’ उहाँले भन्नुभयो ‘दुई तिहाई बहुमतको स्थिर सरकारले समेत उचित वातावरण बन्न सकेको छैन’ वर्तमान सरकारबाट उद्योगी व्यवसायीहरुले ठूलो सहयोगको अपेक्षा गरेको बताउँदै उहाँले उद्योगी व्यवसायीहरुको समस्या समाधानमा सरकारको ध्यानाकर्षण गराउनुभयो ।

अहिले कुनै पनि उद्योग स्थापना गर्न जग्गा प्राप्तीमा झण्झट , लगानीको अभाव , वस्तु विक्री नहुने समस्या रहेको सुनाउनुभयो । उहाँले साना व्यवसायीलाई बैँकले ऋण नदिने समस्या रहेको पनि बताउनुभयो ।

जग्गा प्राप्ती र बन ऐनका कारण पनि उस्तै समस्या हुँदै आएको गोल्छाले बताउनुभयो । संघीयता पछि उद्योग फस्टाउने आशा गरिएपनि स्थानीय तहले लिने करका कारण समस्या देखिएको बताउँदै गोल्छाले सरकारले व्यवसायिक हितमा काम गर्नुपर्ने आवश्यकता औल्यानुभयो ।

बैँकले कुनै पनि व्यवसायका लागि सहज रुपमा ऋण दिने व्यवस्था मिलाउन, बजारको व्यवस्थापन गर्न, कर लगायतका समस्या समाधान गर्न सकेमात्रै उद्योग फस्टाउने गोल्छाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्