उत्कृष्ट ब्याटिङमा बलिङको छाया



फिरोज राजोपाध्याय, काठमाडौं।

आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत् त्रिकोणात्मक शृंखलामा ओमानविरुद्ध उत्कृष्ट ब्याटिङ खराब बलिङको छांयामा पर्दा नेपालले हार बेहोरेको छ।आईतबार कीर्तिपुरस्थित त्रिवि मैदानमा भएको खेलमा नेपाल ओमानसँग ८ विकेटले हारेको हो। टस हारेर ब्याटिङ गरेको नेपालले सानदार प्रदर्शन गर्दै निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो।

सो योगफल नेपालको एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) क्रिकेटमा उच्चतम योगफल समेत थियो। यसअघि यूएईविरुद्ध गत वर्ष नेपालले २ सय ४३ रनको योगफल जोडेको थियो।तर बलियो योगफललाई नेपालले रक्षा गर्न सकेन। ओमानले मात्र २ विकेट गुमाएर १६ बल बाँकी राखेर २ सय ५० रनको लक्ष्य भेटाएको थियो।

नेपालले २ विकेट ८३ रनको योगफलमा निकाले पनि यसपछि विकेट हासिल गर्न सकेन। आकिब इलियास र जिशान मकसूदले थप विकेट झर्न नदिई तेस्रो विकेटका लागि १ सय ६७ रनको साझेदारी गरेका थिए।

नेपालको लागि आकिबलाई व्यक्तिगत ३७ रनमा क्याच ड्रप गर्नु दुर्भाग्य सावित भएको थियो। २५औं ओभरमा करणको बलिङमा प्वाइन्टमा आरिफ शेखले आकिबको क्याच ड्रप गरेका थिए। आकिबले प्रहार गरेको बल आरिफको हातमा सीधै आएपनि उनले राम्ररी नियन्त्रणमा लिन सकेनन्।

यसपछि आकिबले ओडीआई करियरमा मेडन शतक प्रहार गर्दै टोलीको जित सुनिश्चित गरे। उनले १ सय ८ बलमा नटआउट हुँदैं १ सय ९ रन जोड्दा १२ चौका र १ छक्का समेत प्रहार गरेका थिए। यस्तै मकसूदले ८ चौकाको सहयोगमा ६८ रनको योगदान दिए।

नेपालका बलरमा करण र सन्दीप महँगो साबित भएका थिए। अघिल्ला दुई खेलमा ४÷४ विकेट लिएका करणले विकेट लिन सकेनन्। उनले ९ ओभरमा १ मेडन राख्दै ४४ रन खर्चेका थिए। त्यस्तै सन्दीपले १० ओभरमा ६५ रन दिए भने ओडीआईमा डेब्यु गरेका कमल सिंह ऐरीले ४ ओभरमा २९ रन खर्चेका थिए। नेपालका लागि सुसन भारी र कुशल मल्लले मात्रै विकेट लिएका थिए।

यसअघि नेपालको ब्याटिङ निकै चलेको थियो। सबै खेलाडीले राम्रो खेलेका थिए। कप्तान ज्ञानेन्द्र मल्ल र सुवास खकुरेलले पहिलो विकेटका लागि ४८ रनको साझेदारी गरेका थिए। सुवास २२ रन बनाएर आउट भएपछि क्रिजमा आएका पारसले कप्तानलाई राम्रो साथ दिए। पारस र ज्ञानेन्द्रले दोस्रो विकेटका लागि ५९ रनको साझेदारी भएको थियो। पारसले ३४ बलमा ६ चौका र १ छक्का हान्दै ३८ रन जोडेका थिए।

उपकप्तान दीपेन्द्र सिंह ऐरी भने शून्यमै पवेलियन फर्केका थिए। १ सय २८ रनमा पुग्दा ज्ञानेन्द्र पनि ५६ रन बनाएर आउट भएका थिए। शुरुको दुई खेलमा नजमेका उनले ६ चौका र १ छक्का प्रहार गरेका थिए।

कप्तान आउट भएपनि यसपछिका आएका ब्याटसम्यानहरूले नेपालको ब्याटिङलाई सन्तुलित बनाए। रनआउट भएका विनोद भण्डारीले ३५ रन तथा आरिफ र कुशलले २८/२८ रन जोडेका थिए। ओमानको तर्फबाट प्लेयर अफ द म्याच आकिबले ४ तथा मोहम्मद नदीमले ३ विकेट लिएका थिए।

तस्वीर:उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्