अजित र सन्तोषीलाई उपाधि



हेटौंडा, (नेस)।

हेटौंडा रन दौडअन्तर्गत पुरुषतर्फ एपीएफका अजितकुमार यादव र महिलातर्फ बाग्मती प्रदेशकी सन्तोषी श्रेष्ठ पहिलो भएका छन्। १० किलोमिटर (किमि) को दूरी अजितले ३१ मिनेट ६ सेकेन्डमा र ५ किमिको दूरी सन्तोषीले १८ मिनेट १० सेकेन्डमा पार गरेका हुन्।

योसँगै उनीहरूले समान ५० हजार नगद पुरस्कार पनि हात पारे। यस्तै पुरुषतर्फ नेपाली सेनाका टंक कार्की दोस्रो र एपीएफका गणेशसिंह ठकुरी तेस्रो भएका छन्। यसै गरी महिलातर्फ नेपाल प्रहरीकी राजपुरा पछाईं दोस्रो र सेनाकी सरस्वती भट्टराई तेस्रो स्थानमा रहे।

दुवै विधाका दोस्रो र तेस्रो हुनेले क्रमशः ३० हजार र २० हजार नगद हासिल गरे। प्रतियोगितामा राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विदेशी खेलाडी, नगरप्रमुख, सरकारी कर्मचारी, जनप्रतिनिधि, पूर्वमिस नेपाल, प्रहरीसहित विभिन्न संघसंस्थाका प्रतिनिधि गरी ७ हजार ५ सय जनाले सहभागिता जनाएका थिए।

प्रतियोगितामा सहभागितामूलक ३ किमि ‘फन रन’ पनि भएको थियो। भ्रमण वर्षलाई स्वागत गर्दै खेलका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिता गरिएको हो।

प्रतिक्रिया दिनुहोस्