नेपालद्धारा अमेरिकालाई १९१ रनको लक्ष्य प्रस्तुत, कुशल र विनोदको अर्धशतक



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालले आइसीसी क्रिकेट विश्वकप लिग २ मा अमेरिकालाई १९१ रनको लक्ष्य दिएको छ । कीर्तिपरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले ४९.२ ओभरमा सबै विकेट गुमाएर १९० रन बनाएको हो ।

युवा खेलाडी कुशल मल्लको डेब्यु ओडीआईमै अर्धशतक र विनोद भण्डारीको अर्धशतकले खेललाई थप रामाञ्चक बन्यो । कुशल नेपालका लागि ओडीआईमा अर्धशतक प्रहार गर्ने सातौं र विनोद आठौं खेलाडी समेत बने । विनोदले ५९ र कुशलले ५० रन बनाए ।

शरद भेषावरले चोटका कारण सिरिज गुमाएपछि उनको स्थानमा टिममा आएका सुवास खकुरेलले कप्तान ज्ञानेन्द्र मल्लसँग इनिङ्सको शुरुवात गरेका थिए । तर सुवास व्यक्तिगत ३ रन बनाएर पहिलो विकेटको रुपमा आउट भए । ओमान विरुद्ध ओपनिङ गरेका पारस खड्का अमेरिका विरुद्ध तेस्रो नम्बरमा ब्याटिङ गरेका थिए ।

ज्ञानेन्द्र र पारसले दोस्रो विकेटका लागि ४० रनको साझेदारी गरेका थिए । कप्तान ज्ञानेन्द्र मल्ल २१ रन बनाएर आउट भए । त्यसपछि क्रिजमा पुगेका उपकप्तान दिपेन्द्र सिंह ऐरी खाता नखोली आउट भए भने पारस खड्काले २१ रन जोडे ।

लगत्तै आरिफ शेख २ रन बनाएर आउट भए । ४९ रन हुँदा ५ विकेट गुमाउँदै धरासयी भएको नेपालको इनिङ्स कुशल मल्ल र विनोद भण्डारीले सम्हाले । कुशल मल्लले ओडीआई डेब्युमै कीर्तिमानी अर्धशतक प्रहार गर्दै विनोद भण्डारीसँग ८४ रनको साझेदारी गरेपछि नेपालको रन उकासिएको थियो ।

कुशलले ओडीआई डेब्युमै अर्धशतक बनाउँदा सबैभन्दा कान्छो उमेर अर्धशतक प्रहार गर्ने खेलाडी बने । ३६औं ओभरको दोस्रो बलमा करिम गोरेको बलमा एलमोर हचिनसनबाट क्याचआउट हुनुअघि कुशलले ५१ बल खेल्दै ४ चौका र ३ छक्का मद्दतमा ५० रन बनाए ।

प्रतिक्रिया दिनुहोस्