आर्मी र मछिन्द्रबीच १ अङ्कको दूरी



नेपाल समाचारपत्र, काठमाडौं।

जारी शहीद स्मारक ए डिभिजन लिगको उपाधि जित्ने होडमा त्रिभुवन आर्मी क्लब र मछिन्द्र क्लबबीच एक अङ्कको दूरी कायमै रहेको छ। बिहीबार ११औं चरणका खेलमा मछिन्द्रले सरस्वती युवा क्लबलाई ६–१ ले हरायो भने आर्मीले नेपाल एपीएफ क्लबलाई २–१ ले पन्छाएको हो। योसँगै आर्मीले ११ खेलमा ८ जितसँगैं २६ अंक जोडेको छ। त्यस्तै मछिन्द्रले ८ खेलमै जित हात पारे पनि २५ अङ्क बनाएको छ। यी दुई टोलीबीच उपाधि होड निकै रोमाञ्चक बन्दै गएको छ।

मछिन्द्रले जारी लिगमा निकै कमजोर बनेको टोली सरस्वतीमाथि गोलको वर्षा गरेको थियो। पुछारमा रहेर रेलिगेसन हुन तयारीमा रहेको सरस्वतीविरुद्ध पहिलो गोल देवेन्द्र तामाङले ४०औं मिनेटमा गरेका थिए। ५४औं मिनेटमा दीपक राईले मछिन्द्रको अग्रता दोब्बर पार्दा ५८औं मिनेटमा विशाल राई ए ले टोलीको तेस्रो गोल गरे।

दीपकले ७७औं मिनेटमा थप गोल गरेपछि मछिन्द्रको जित सुनिश्चित भएको थियो। उनी यसलगत्तै पाएको पेनाल्टी प्रहारमा चुकेपछि ह्याट्रिक पुरा गर्न अक्षम भए। तर ८७औं मिनेटमा सरस्वतीका कजीम बुसारीले भने पेनाल्टी प्रहार गोलमा परिणत गरेका थिए। इन्जुरी समयमा एडिलाजा सोमिडे र एन्ड्रेस नियाले गोल थप्दै मछिन्द्रको लागि फराकिलो जित सम्भव पारेका थिए। मछिन्द्रको जितले दबावमा परे पनि आर्मीले आफ्नो पक्षमा नतिजा निकाल्न सफल भयो।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा आर्मीलाई जित दिलाउन सन्तोष तामाङले दुबै गोल गरेका थिए। उनले १७औं मिनेटमा पेनाल्टी गोलमार्फत् टोलीलाई १–० को अग्रतामा राखेका थिए। एपीएफका आशीष लामाले ३७औं मिनेटमा गोल गर्दै खेल १–१ बराबरीमा पुर्याए। तर सन्तोषले ४२औं मिनेटमा फ्रिकिकमा सुन्दर गोल गरेपछि आर्मीले पुन अग्रता लिएको थियो। दोस्रो हाफमा दुबै तर्फबाट गोल नभएपछि आर्मी शीर्ष स्थानमा यथावत् रह्यो।

सरस्वतीलाई रेलिगेसनको खतरा

अङ्कतालिकामा पुछारमा रहेको टोली सरस्वतीमाथि रेलिगेसन हुने खतरा यथावत् रहेको छ। जारी लिगमा एक टोली रेलिगेसन हुने प्रावधानअनुसार सरस्वती त्यसको सिकार बन्न गइरहेको हो। ४ अङ्कको सरस्वतीले अहिलेसम्म १ खेलमा जित हात पारेको छ, जुन खेलमा हिमालयन शेर्पालाई हराएको थियो।

९ खेलमा हार पाएको सरस्वतीको लागि आगामी खेल पनि सजिलो हुने छैन। कोेटेश्वरको टोलीले १२औं चरणमा च्यासलसँग खेल्नेछन् भने अन्तिम चरणमा संकटासँग प्रतिस्पर्धा हुनेछ। यदि यीमध्ये एक खेलमा जितेमा रेलिगेसनको सूई एपीएफतिर तेर्सिन सक्नेछ। ५ अंकको एपीएफका लागि पनि आगामी दुई खेल सहज हुने देखिँदैन।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्