विश्वकप लिगमा नेपालको खराब शुरूआत



फिरोज राजोपाध्याय, काठमाडौं। 

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत् त्रिकोणात्मक शृंखलामा आयोजक नेपालको खराब शुरूआत भएको छ।कीर्तिपुरस्थित त्रिवि मैदानमा बुधबार भएको ओमानविरुद्धको खेलमा नेपाल १८ रनले हारेको हो। टस हारेर ब्याटिङ गरेको ओमानले १ सय ९८ रनको लक्ष्य दिएकोमा नेपाल ४६.५ ओभरसम्म खेल्दै १ सय ७९ रनमा सीमित भयो।

यो नेपालको लिगअन्तर्गत् पहिलो त्रिकोणात्मक शृंखला हो। नेपालसहित ७ राष्ट्र सम्मिलित सो लिगमा प्रत्येक टोलीले नवौं चरणसम्म त्रिकोणात्मक शृंखला खेल्नेछ, जसमा एउटा टोलीले प्रत्येक चरणका ४ खेल गरी कूल ३६ खेल खेल्नेछ। नेपालका लागि शरद भेषवाकरले सर्वाधिक ५५ रन जोडे पनि जितका लागि पर्याप्त भएन।

अन्यमा उपकप्तान दीपेन्द्र सिंह ऐरीले ३६ रन, सन्दीप लामिछानेले २८ रन र विनोद भण्डारीले २६ रनको योगदान दिएका हुन्। बाँकी खेलाडीले भने दोहोरो अंक छुन सकेनन्, जसमा वर्तमान कप्तान ज्ञानेन्द्र मल्ल र पूर्वकप्तान पारस खड्का पनि सामेल छन्।

नेपालले तीनपटक जितका लागि प्रयास गरेको थियो, जसमा तीनैपटक शरद नै भागिदार थिए। शरदले संयमता अपनाएर उत्कृष्ट ब्याटिङ गरे। अर्को इन्डबाट विकेट पतन भइरहँदा पनि उनले आफ्नो धैर्यलाई गुमाउन दिएनन्। तर उनी ५५ रन बनाएर आठौं विकेटको रुपमा आउट भएलगत्तै नेपालको हार सुनिश्चित हुन पुग्यो।

उनी आउट हुँदा नेपालले जित्नका लागि ४१ बलमा ३६ रन बनाउनु आवश्यक थियो। तर बाँकी दुई विकेट पनि छिट्टै आउट भएपछि नेपालले हार स्वीकार गर्न बाध्य भयो। पहिलो सानदार साझेदारी शरदले उपकप्तान दीपेन्द्र सिंह ऐरीसँग गरेका थिए।

ओपनिङ जोडी ज्ञानेन्द्र मल्ल (१ रन) र पारस खड्का (३ रन) छिट्टै आउट भएपछि शरद र दीपेन्द्रले तेस्रो विकेटका लागि ६२ रन साझेदारी गरे। यो जोडीमा विशेष गरी दीपेन्द्रले आकर्षक शट प्रहार गर्दै रन बटुलेका थिए। उनी मोहम्मद नदीमको एक बललाई छल्न नसक्दा एलबीडब्ल्यूको धरापमा परेका थिए। उनले ५७ बलमा ५ चौका र १ छक्का प्रहार गरे।

दोस्रो पटक जित्ने आस शरद र विनोद भण्डारीबीचको छैटौैं विकेटको साझेदारीमा भएको थियो। ४३ रनको साझेदारी हुँदा विनोदले २६ रन योगदान दिए। उनले २५ बलमा २ चौका र १ छक्का प्रहार गरेका थिए। उनलाई खबर अलीले क्याच आउट गराएका थिए। विनोदको स्थानमा आएका करण केसी शून्यमै आउट भएका थिए।

तेस्रो पटक जित्ने आस शरद र सन्दीपबीचको आठौं विकेटका लागि भएको साझेदारी थियो। १ सय २४ रनमा करण केसी (शून्य) सातौं विकेटको रुपमा गुमेपछि दुवैले ३८ रनको साझेदारी गरेर नेपालको आस जीवित राखेका थिए। तर शरदले आकिब इल्यासको बललाई बुझ्न नसकेर आफ्नो विकेट नै गुमाए। उनको विकेट पतनले नेपालको हार सुनिश्चित भएको थियो। शरदले १ सय ८ बलको सामना गर्दा ५ चौका प्रहार गरेका थिए।

ओमानका बलरमा जीशान मकसूदले सर्वाधिक ३ विकेट लिएका थिए। यसअघि टस हारेर ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा १ सय ९७ रन बनाएको थियो। टोलीका लागि मोहम्मद नदीमले सर्वाधिक ६९ रनको योगदान दिए।

नेपालको तर्फबाट सुसन भारी र करण केसीले सानदार बलिङ गरेका थिए। करणले ९ ओभरमा ४७ रन खर्चेर ४ विकेट लिँदा सुसनले पहिलो अन्तर्राष्ट्रिय एकदिवसीयलाई सुनौला बनाए। सुसन १० ओभरमा एक मेडनसहित १४ रन दिएर ३ विकेट लिन सफल भएका थिए।

तर एकदिवसीय अन्तर्राष्ट्रियमा डेब्यु गरेका अर्का नेपाली बलर अविनाश बोहरा भने विकेटविहीन बने। त्यस्तै अन्तर्राष्ट्रिय टी २० लिगमा जमेका सन्दीप लामिछानेले पनि विकेट लिन सकेनन्। उनले १० ओभरमा ४५ रन खर्चेका थिए। एक विकेट रनआउट भए भने एक विकेट उपकप्तान दीपेन्द्रले लिएका थिए।

प्रतिक्रिया दिनुहोस्