तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण फागुनमा



यमलाल भुसाल, बुटवल ।

मोफसलको चर्चित तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागुनमा हुने भएको छ । रुपन्देही जिल्ला फूटवल संघको आयोजनामा संचालन हुने तिलोत्तमा गोल्ड कपको २२ औं संस्करण आगामी फागुन ८ देखि १८ गतेसम्म सञ्चालन हुने भएको छ ।

अखिल नेपाल फूटवल संघले ‘क’ वर्गमा समावेश गरेको ‘२२ औं तिलोत्तमा गोल्ड कप नक आउट फूटवल प्रतियोगिताको जानकारी गराउन बुधवार एन्फा टेक्निकल सेन्टर बुटवलमा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिएको हो ।

मोफसलको ठूलो धनरासीको उक्त प्रतियोगितामा ए डिभिजनका अधिकतम १४ टिम सहभागि हुने रुपन्देही जिल्ला फूटवल संघका अध्यक्ष तथा अखिल नेपाल फूटवल संघका केन्द्रीय सदस्य दीर्घबहादुर केसी (कुमार)ले जानकारी गराउनु भयो । बुटवल उपमहानगरपालिका संरक्षक रहेको उक्त प्रतियोगितामा विजेतालाई १० लाख ५१ हजार रुपैयाँ र उपविजेतालाई ७ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार सहित शिल्ड मेडल र प्रमाणपत्र प्रदान गरिने छ ।

त्यस्तैगरी सर्बोत्कृष्ट खेलाडीलाई एक थान स्कुटर, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स र उत्कृष्ट कोचलाई जनही ३० हजार रुपैयाँ पुरस्कार सहित प्रमाणपत्र प्रदान गरिने अध्यक्ष केसीले जानकारी गराउनु भयो । २१ औं तिलोत्तमा गोल्ड कपको उपाधि डावफिन्स क्यामरुनले हात पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्