कौस्तुभलाई उपाधि



नेपाल समाचारपत्र, काठमाडौं।

कौस्तुभ एकेडेमीले प्रथम काठमाडौं महानगर प्याब्सन कप छात्र फुटसल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ। काठमाडौं महानगर प्याब्सन कमिटीद्वारा आयोजित प्रतियोगिताको फाइनलमा कौस्तुभले सेचेनलाई १६–१ को भारी गोलअन्तरले पराजित गर्यो।

टोलीको शानदार जितमा लक्ष्मण गुरुङ एक्लैले ७ गोल गरे। त्यस्तै विवस मगर र जोसेफ गोलले ४–४ तथा रविन बमले १ गोल गरेका थिए।सेचेनका ग्याल्चेन लोले सान्त्वना गोल फर्काएका थिए। विवस फाइनलको ‘म्यान अफ द म्याच’ घोषित भए।

समता शिक्षा निकेतनले नेपाल तारालाई सडन डेथ (९–८) मा हराउदै तेश्रो भयो। शीर्ष तीन स्थान हात पार्नेले क्रमशः २० हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे। नगद पुरस्कार आईसीएफसी फाइनान्स लिमिटेड र हिमालयन डेन्टल अस्पतालले प्रायोजन गरेको हो।

बौद्धस्थित एरिना फुटसलमा भएको प्रतियोगितामा समताका दीपेन्द्र तामाङ उत्कृष्ट खेलाडी, कौस्तुभका अमरबहादुर नेवार उत्कृष्ट गोलरक्षक तथा कौस्तुभकै लक्ष्मण गुरुङ सर्वाधिक गोलकर्ता बने। तीनै जनाले २–२ हजार नगद पुरस्कार पाए।

प्रतिक्रिया दिनुहोस्