एनआरटीलाई फ्रेन्डस्ले हरायो



नेपाल समाचारपत्र, काठमाडौं। 

जारी शहीद स्मारक ए डिभिजन लिगको दशौं चरणको अन्तिम खेलमा फ्रेन्डस् क्लबले जित हात पारेको छ। एन्फा कम्प्लेक्सको मैदानमा फ्रेन्डस्ले न्युरोड टिम (एनआरटी) लाई २–० ले हराएको हो। टोलीले ३ मिनेटमा २ गोल गर्दै जित हासिल गरेको हो। टोलीका लागि सन्जोग महर्जन र वाग्नेर डी कार्मोले १÷१ गोल गरेका थिए।

खेलको ७८औं मिनेटमा सन्जोगले डिबक्सको दायाँतिरबाट प्रहार गरेको बलले जाली चुमेको थियो। यसपछि ८१औं मिनेटमा कार्मोले बक्सभित्र पाएको बललाई गोलमा परिणत गरेका थिए।

योसँगैं फ्रेन्डस्ले १० खेलमा १४ अंक जोड्दै नवौं स्थानमा रहेको छ। उता एनआरटीले हारसँगै चौथो स्थानमा उक्लिने मौका गुमायो। टोली १५ अंकमै अड्किएर सातौं स्थानमा रहेको छ।

उपाधि दौडमा तीन टोली

जारी लिगमा तीन टोली उपाधिको दौडमा अगाडि रहेका छन्। शीर्ष तीनमा रहेका त्रिभुवन आर्मी क्लब, मछिन्द्र क्लब र मनाङ मस्र्याङदी क्लबबीच उपाधि दौडको लागि रोमाञ्चक भिडन्त भइरहेका छन्। आर्मीको २३ अंक छ भने मछिन्द्रको २२ अंक रहेको छ। मनाङको १९ अंक रहेको छ।

आर्मीले ११औं र १२औं चरणमा क्रमशः एपीएफ र ब्रिगेड ब्वाइज क्लबसँग खेल्नेछ। यस्तै मछिन्द्रले सरस्वती युवा क्लब र संकटा क्लबसँग खेल्न बाँकी छ। यदि दुबै टोलीले जितलाई निरन्तरता दिएमा अन्तिम खेलबाट विजेताको टुंगो लाग्नेछ। जुन खेल फागुन ३ गते यी दुई टोलीबीच नै हुनेछ।

मनाङले भने तीनवटै खेल जितेमा पनि उपाधि रक्षा गर्न आर्मी र मछिन्द्रले अरू खेल हार्नुपर्ने हुन्छ। मनाङ १०औं चरणको खेलमा च्यासलसँग २–० हार्दा शीर्ष दुई टोलीसँग पछि लागेको हो।

मनाङले बाँकी तीन खेल एनआरटी, पुलिस र जावलाखेलविरुद्ध खेल्न बाँकी छ। तीनै टोलीले जारी लिगमा राम्रो प्रदर्शन गरिरहेको अवस्थामा मनाङको उपाधि रक्षा गर्ने सम्भावना न्यून रहेको छ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्