शहीद स्मारक लिग : च्यासल युथ क्लब विजयी



काठमाडौँ।

शहीद स्मारक ए डिभिजन लिगको सोमबार भएको दोस्रो खेलमा च्यासल युथ क्लब विजयी भएको छ । सातदोबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को मैदानमा भएको खेलमा च्यासलले मनाङमस्र्याङ्दी क्लबलाई २–० गोलले पराजित गरेको हो ।

खेलको तेस्रो मिनेटमा च्यासलका अमिर श्रेष्ठले गोल गर्ने मौका पाउनुभएको थियो । उहाँले मौकाको फाइदा लिन सक्नुभएन । यस्तै खेलको १० औँ मिनेटमा च्यासलका सन्तोष साउखलको प्रहार गोलमा परिणत हुन सकेन ।

खेलको २४औँ मिनेटमा टेइगी नाकामुराले च्यासलका लागि पहिलो गोल गर्नुभयो । खेलको ३६औँ मिनेट र ४१औँ मिनेटमा मनाङका अञ्जन विष्टले गोल गर्ने मौका पाए पनि त्यसको फाइदा लिन सक्नुभएन । पहिलो हाफको प्रदर्शनमा सुधार गर्दै खेलको मनाङले दोस्रो हाफमा पनि गोल गर्न सकेन ।

यसैगरी खेलको ४९औँ मिनेटमा निशान लिम्बूले गोल गर्ने अवसर पाए पनि त्यसको सदुपयोग गर्न सक्नुभएन । खेलको ६४औँ मिनेटमा मनाङमा विमल रानाले गोल गर्ने मौका पाए पनि विपक्षी खेलाडीले सफल हुन दिएनन् ।

खेलमा रेफ्रीलाई दुव्र्यवहार गरेको भन्दै च्यासलका प्रशिक्षक बालगोपाल महर्जनले रातोकार्ड पाउनुभएको थियो । खेलको इन्जुरी समयमा नाकामुराको पासमा च्यासलका सन्तोष साउखलले उत्कृष्ट गोल गर्नुभयो ।

जितपछि च्यासल १२ अङ्कका साथ लिगको नवौँ स्थानमा उक्लेको छ भने हारपछि मच्छिन्द्र २२ अङ्कसहित दोस्रो स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्