चन्द्रपुरलाई उपमेयर कप उपाधी


सञ्जय कार्की, रौतहट ।

टाईब्रेकरमा बाजी मार्दै चन्द्रपुर नगरपालिकाले चन्द्रपुर उपमेयर कप राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उपाधी हात पारेको छ । शनिबार भएको फाइनल खेलमा चन्द्रपुर नगरपालिकाले स्याङ्जाको वालिङ नगरपालिकालाई टाइब्रेकरमा ४–३ ले हराएको हो ।

स्वर्गीय शेर बहादुर दर्लामी हातेमालो खेल मैदानमा निर्धारित समयमा गोल नहुँदा थपिएको ३० मिनेटमा पनि गोल हुन सकेन । टाईब्रेकरमा चन्द्रपुर नगरपालिकाकोबाट सलोनी रानामगर, अस्मिता बैद्य, सपना राई, सबिता रानामगरले गोल गरे भने वालिङ नगरपालिकाका मनमाया दमाई, पुष्पा गुरुङ, र प्रतिक्षा चौधरीले गोल गरेका थिए ।

बिजेता चन्द्रपुरले ३ लाख र उपबिजेता वालिङले १ लाख ५० हजार नगद र ट्रफि हासिल गरे । प्रतियोगितामा चन्द्रपुरकी रजनी ठोकरले स्कुटी प्राप्त गरेकी छन् । उत्कृष्ट मिड फिल्डरमा चन्द्रपुरकी सबिता रानामगर, उत्कृष्ट डिफेन्डर समिक्षा घिमिरे, उत्कृष्ट फरवार्ड रजनी ठोकर, उत्कृष्ट गोलकिपर वालिङकी सबिता किसन र उत्कृष्ट प्रशिक्षक चन्द्रपुरकी नुरराज काफले भइन् । उनीहरुलाई जनही १५ हजार नगद बाट पुरस्कृत गरिएको छ ।