केनीन पहिलो पटक फाइनलमा



न्युज अफ नेपाल, मेलबर्न

सोफिया केनीनले करियरमा पहिलो पटक ग्रान्डस्लाम टेनिस प्रतियोगिताको फाइनलमा स्थान बनाएकी छन् ।

जारी अस्ट्रेलियन ओपनअन्तर्गत् आज भएको महिला सिंगल्सको सेमिफाइनल खेलमा केनीनले शीर्ष खेलाडी एश्लीग बार्टीलाई सोझो सेटमा हराएकी हुन् । २१ वर्षीय अमेरिकी खेलाडीले मेलबर्न पार्कमा घरेलु खेलाडीलाई ७–६, ७–५ ले पराजित गरिन् । योसँगै बार्टीको ४० वर्षपछि अस्ट्रेलियन ओपनमा फाइनल पुग्ने पहिलो अस्ट्रेलियन महिला खेलाडी बन्ने लक्ष्य पुरा हुन सकेन ।

केनीनले शनिबार हुने फाइनलमा स्पेनकी गार्बिन मुगुरुजासँग उपाधिको लागि खेल्नेछिन् । दुई पटकको ग्रान्डस्लाम विजेता मुगुरुजाले चौथो वरियताकी सिमोना हालेपलाई ७–६, ७–५ ले हराएकी हुन् ।

यस्तै पुरुष सिंगल्सतर्फ २० पटकको ग्रान्डस्लाम विजेता रोजर फेडेरर सेमिफाइनलबाटै बाहिरिएका छन् । आज भएको सेमिफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन नोभाक जोकोभिचले फेडेररलाई ७–६, ६–४, ६–३ ले हराएका हुन् । जोकोभिचको फाइनलमा सामना एलेक्सान्डर जेभेरेभ र डोमिनिक थीमबीचको खेलका विजेतासँग हुनेछ । यो सेमिफाइनल खेल भोलि हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्