नेता ओलीसहित १६ कार्यकर्ता जेल चलान



दयाराम पण्डित, बाजुरा ।

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका केन्द्रीय नेता चुडामणी ओलीसहित १६ कार्यकर्तालाई पुर्पक्षका लागि सोमवार कारागार चलान गरिएको छ ।

उनीहरुलाई राज्य विरुद्धको अपराध, विष्फोटक पदार्थ बोकेको र संगठिन अपराध लगायत तिन वटा मुद्दामा थुनामा राखि थप छानविन तथा अनुसन्धान गर्न जिल्ला अदालत बाजुराले आदेश दिएको जिल्ला अदालत बाजुराका श्रेस्तादार अधिकृत भोलाराज रेग्मीले बताउनुभयो । उनीहरुबाट प्रसेर कुकर , पेस्तोल,सकेट बम,पाउडर र तारहरु सहित बरामद गरिएको अधिकृत रेग्मीले बताउनुभयो ।

बाजुरा जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पक्राउ परेका १६ जनालाई कारागार चलान गर्ने आदेश दिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

सोमबार भएको पेसी बहसमा बरामदी मुचुल्का नभई बनावटी भएको र कुटपिट गरी यातना दिएर बयान गराएको प्रतिवादीको बयानमा उल्लेख छ । ती १६ जनालाई गत कात्तिक २२ गते बाजुराको गौमुल गाउँपालिका माझपालीबाट पक्राउ गरिएको बताइएको छ ।

जेलचालन भएका ओली समुहले भने प्रहरी हिरासतमा राखेको वेला कुटपिट सहित चरम यातना दिएको आरोप लगाएका छन् । बाजुरा जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक टंक प्रसाद भट्टराईले भने प्रहरी वाट यातना दिएको भन्ने आरोप स्वीकार्नु भएन ।

कुनैपनि अभियुक्तलाई समात्दा सामान्य बल प्रयोग गर्नै पर्छ । उहांहरुले राज्य पक्षलाई दोष लगाउछन् नै भन्ने प्रतिक्रिया प्रहरी नायव उपरिक्षक भट्टारईले दिनुुभएको छ ।

ओलीसहित पक्राउ पर्नेमा नरेश शाही, डम्बर सुनार, दीपकप्रकाश सुनार, उदय कशेरा, अमललाल थापा, धर्मबहादुर थापा, राजेशकुमार शाही, डबलबहादुर नेपाली, धर्म्सिंह बोहरा, कुश्मा विक, अस्मिता विक, सुस्मिता विक, कमला विक र सृष्टि सिंह छन् ।

तीमध्ये ११ पुरुष बाजुरा र ५ महिलालाई सोमबार नै अछाम कारागारमा चलान गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले बताउनुभयो । रोल्पा गङ्गादेव–३ झ्याम घर भएका ओली विप्लव समूहका न्याय विभाग प्रमुखसमेत हुन् ।

यसअघि उनी वैशाख ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीबाट पक्राउ परेका थिए । उनलाई दाङबाट सुनसरी पुयाएर ८० दिनको हिरासत बसाइँपछि जिल्ला अदालत सुनसरीले असार २३ गते रिहा गरेको बतायएको छ ।

प्रतिक्रिया दिनुहोस्