भारतबाट फर्केका युवक घर नजिकै मृत भेटिए



दयाराम पण्डित, बाजुरा ।

बडीमालिका नगरपालिकाको पोरखे लेकमा सनिवार विहान एक युवक मृत भेटीएका छन् । बुढीनन्दा नगरपालिका ९ गुईदेली घर भएका २२ वर्षका पुरन ल्वार मृत भेटिएको शसस्त्र प्रहरी बल मार्तडीले बताएको छ ।

पोरखे लेक स्थित लल्लरे खोलामा हिउँले पुरिएको अवस्थामा ल्वार भेटिएको शसस्त्र प्रहरी हवल्दार जयमनी महत्तराले जानकारी दिएका छन् । मृत शवको पहिचान भएपनि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय बाजुराको टोली पुग्न बाँकी छ ।

ल्वार रोजगारीको शिलशिलामा भारतको मुम्बईमा लामो समयदेखि काम गर्दै आएका थिए । उनी मुम्बईबाट घर फर्किदै गर्दा बीच बाटोमा नै मृत भेटिएका हुन् । घटना स्थलबाट ल्वारको घर गुंदेली मात्र १ घण्टाको दुरीमा पर्दछ ।

मृत्युको कारण बारे आधिकारीक जानकारी प्राप्त नभएपनि चिसोका कारण मृत्यु भएको हुनसक्ने अनुमान गरिएको छ । ढम्कनेबाट लगातार २ घण्टा हिउँकै बाटोमा हिँड्नु पर्ने हुन्छ । ल्वार मुम्बइ बाट एक्लै नेपाल आएको परिवार श्रोतले बताएको छ ।

तीनदिन पहिले मार्तडी पुगेको खबर गरेपनि त्यो भन्दा पछि कुनै जानकारी नभएको र फोन समेत नलागेकोले आफूहरुले खोजी गर्दा मृत अवस्थामा भेटिएको आफन्तले बताएका छन् । शब भेटिएको स्थानमा सशस्त्र प्रहरी र आफन्त समेत पुगीसकेका छन् ।

पोरखे काँधमा भारी हिमपातका कारण तीन साता देखि सडक अवरुद्ध छ । ढम्कनेबाट हिँडेर जानुपर्ने हुँदा प्रहरी घटना स्थल पुग्न चार घण्टा बढी लाग्ने छ । पोरखे क्षेत्रमा यस अघि पनि हिमपात भएकै बेला तीन जनाको ज्यान गइसकेको छ ।

यस्तै चोरी लुटपाटका घटना पनि हुने गरेका छन् । प्रहरी प्रशासनबाट दुरीमा टाढा रहेको र जंगलको बाटो भएकोले पोरखे लेकमा अपराधिक घटनाहरु घट्नेक्रम जारी छ ।

तत्कालिन जुम्ली महाारजले निर्माण गरेका धर्मसाला पनि भत्किएका छन् भने होटेल ब्यबसाय गर्दे आएका सथानीय लाई तत्कालितन जिल्ला बन कार्यालयले विस्थापित गरेपछि हिमपातमा ओतलाग्ने ठाउँ सहित पोरखेमा छैन । सरकारले पोरखेमा सशस्त्र प्रहरी क्याम्प राख्ने भनेपनि अझै कार्यान्वयन हुन सकेको छैन । ्

प्रतिक्रिया दिनुहोस्