सांसदद्वारा एन्फा कास्की अध्यक्षलाई झापड



पोखरा, (नेस)।

मुख्यमन्त्री कपअन्तर्गत खेल दौरान अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई गण्डकी प्रदेशका सांसद राजीव गुरुङ (दीपक मनाङे)ले हातपात गरेका छन्।

माघ १ गते मनाङको टिम पोखरामा आएको तर खेलाडीलाई खाने बस्ने, अभ्यास गर्ने स्थलको व्यवस्था नगरेको कारण गुरुङमाथि हातपात गरेको बताइएको छ।

माघ १ गतेदेखि खेलाडीलाई बोलाएर खाने र बस्ने व्यवस्था नगरेको भन्दै आफूले झापड हानेको सांसद गुरुङले स्वीकार गरेका थिए।‘मैले हात हालेको हैन झापड हानेको हुँ।

यो मान्छे भ्रष्टाचारी रहेछ।’ –गुरुङले भने। कारबाही गर्ने अन्य बाटो थियो किन हात हाल्नुभयो त भन्ने पत्रकारको प्रश्नमा उनले भने– ‘कारबाही गर्ने अन्य बाटा पनि भ्रष्टाचारी छन् त्यही भएर मैले झापड हानेको हुँ।’

आदर्शको जित

कास्कीको आदर्श युवा क्लबले गण्डकी प्रदेशस्तरीय मुख्यमन्त्री कप लिग फुटबल प्रतियोगितामा जित हात पारेको छ। मंगलबार भएको उद्घाटन खेलमा आदर्शले गोर्खाको बौद्ध हिमालय क्लबलाई ३–१ ले हराएको हो।

२७औं मिनेटमा समीर कार्कीले गोल गर्दै कास्कीलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलको अग्रता बनाएको कास्कीले दोस्रो हाफमा थप दुई गोल गर्न सफल भयो।

सुमित श्रेष्ठले खेलको ५१औं मिनेटमा गोल गरे भने एक मिनेट बित्न नपाउँदै अजय श्रेष्ठले खेलको ५२औं मिनेटमा थप एक गोल गर्दै ३–० को अग्रता बनायो।

३ गोलले पछि परेको गोर्खाका लागि सन्दीप श्रेष्ठले खेलको ६५औं मिनेटमा एक गोल गरे। विजेता टिमले नगद ५ लाख र उपविजेताले ३ लाख नगद प्राप्त गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्