पुलिस अन्तिम चारमा



नेपाल समाचारपत्र, काठमाडौं।
नेपाल भलिबल संघको आयोजनामा पाँचौं आरबीबी एनभीए राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल च्याम्पियनसिप २०२० मा नेपाल पुलिस क्लब महिलातर्फ सोमबार सेमिफाइनलमा प्रवेश गर्न सफल भएको छ।
पुलिसले ढोरपाटन स्पोट्र्स क्लबलाई २५–५, २५–१५, २५–८ ले पराजित गर्दै सेमिमा स्थान पक्का गरेको हो। होङवान्जी न्यु डायमन्डसँग ३–२ ले पराजित हुँदै १ अंक जोडेको पुलिसले ढोरपाटनलाई हराउँदै थप ३ अंकसमेत जोडेर ४ अंक बटुल्न सफल भयो।

समूह विजेता र उपविजेताको टुंगो भने न्यु डायमन्ड र ढोरपाटन स्पोट्र्स क्लब बीचको नतिजाबाट हुनेछ।

महिलाको अर्को खेलमा समूह चरणबाट बाहिरिसकेका भरतपुर मेट्रो खेलकुद परिषद् (बीएमसी) र जावलाखेल भलिबल ट्रेनिङ सेन्टर (जेभीसी) बीचको खेलमा बीएमसी विजयी भयो।
बीएमसीले जेभीसीलाई २५–८, २५–९, २५–१५ ले पराजित गर्यो।राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको च्याम्पियनसिपमा सेनाको त्रिभुवन आर्मी क्लब (टीएसी) ग्रुप ‘ए’ मा समूह विजेता बन्दै अन्तिम आठमा पुग्न सफल भएको छ।
टीएसीले नयाँबजार सामाजिक युवा क्लब (एनवाईसी) लाई २५–१५, २५–१७, २५–१७ को सोझो सेटमा पराजित गर्यो। टीएसीले दुई खेलबाट ६ अंक जोड्न सफल भयो।टीएसीसँग पराजित भए तापनि एनवाईसी एक जितका साथ समूह उपविजेताका रूपमा अन्तिम आठमा प्रवेश गर्न सफल भएको छ।

प्रतिक्रिया दिनुहोस्