सबै विदेशी मुलुकसँग समान व्यवहार गर्नुपर्छः कांग्रेस नेता खड्का



काठमाडौं । प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. नारायण खड्काले सबै विदेशी मुलुकसँग समान व्यवहार गर्नुपर्ने बताएका छन् । अष्ट्रेलियामा सोमबार आयोजित नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमको दशौं साधारणसभामा बोल्दै उनले एक कार्यक्रममा नेता खड्काले यस्तो बताएका हुन् ।

‘हाम्रो परराष्ट्र नीति सबै विदेशी मुलुकसँग समान व्यवहार गर्ने नै हो,’ नेप्लिज अष्ट्रेलियन डेमोक्रेटिक फोरमको दशौं साधारणसभामा बोल्दै उनले भने, ‘तर व्यवहारमा त्यो देखिएको छैन, सरकारले कार्यशैलीले विदेशी राष्ट्रहरु चिढिने अवस्था बनेको छ ।’ उनले सरकार कम्युनिस्ट मुलुकसँग मात्र सम्बन्ध विस्तारमा लागेको आरोप लगाए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एनपी साउँदले लोकतान्त्रिक संस्थालाई कमजोर बनाउन सरकार सक्रिय रहेको बताए । ‘संविधानविपरीत हुने गरी सरकारले विधेयक ल्याइरहेको छ । सरकार लोकतन्त्रप्रति प्रतिवद्ध नभएको, नागरिकका अधिकार कुण्ठित गर्ने गरी सरकार कानुन बनाइरहेको उनले बताए ।

नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री सरोज थापाले लोकतन्त्र रक्षाका लागि फेरी संघर्ष गर्नुपर्ने समय आएको बताए । उनले नेकपा नेतृत्वको सरकार लोकतन्त्र मास्न लागेको भन्दै कांग्रेस एक ढिक्का भएर लोकतन्त्र बचाउन सडकमा उत्रिनुपर्ने उल्लेख गरे । फोरमका अध्यक्ष विवेक थापाले विदेशमा भएपनि लोकतन्त्रका पक्षमा आफूहरुले गतिविधि सञ्चालन गर्दै आएको उल्लेख गरे । साधारणसभाले सुरेन्द्र सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्