एनआरटी र फ्रेण्डस्को जित



नेपाल समाचारपत्र, काठमाडौं।

जारी कतार एयरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगअन्तर्गत आइतबार एनआरटी (न्यूरोड टिम) र फ्रेन्डस् क्लबले जित हात पारेका छन्।

एन्फा मैदानमा सम्पन्न खेलमा एनआरटी (न्युरोड टिम) ले नेपाल एपीएफ क्लबलाई ३–२ ले हराउँदा फ्रेन्डस् क्लबले सरस्वती क्लबमाथि ४–१ को जित हात पारेको हो। जितसँगै एनआरटी ७ खेलबाट ११ अंक जोड्दै पाँचौं स्थानमा उक्लियो।

यो एनआरटीको चौथो जित हो र समग्रमा टोलीको १३ अंक हुनुपर्ने थियो। तर गत संस्करणको बिना रेलिगेसनको लिगमा पुछारमा परेकोले एनआरटीको यसपटक २ अंक काटिएको छ।

२–१ ले पछि परेको स्थितिमा एपीएफबाट भएको आत्मघाती गोलबाट एनआरटी खेलमा फर्केको थियो। ८०औं मिनेटमा एपीएफका वीरेन्द्र प्रकाश यादवले आत्मघाती गोल गरेका थिए। उनले एनआरटीका नवीन गुरुङको क्रसलाई क्लियर गर्न खोज्दा आफ्नै पोस्टमा गोल गर्न पुगे।

योसँगै खेल २–२ बराबरीमा पुगेको थियो। यसपछि दर्शन गुरुङले ८५औं मिनेटमा एनआरटीका लागि विजयी गोल गरेका थिए। यसअघि आन्द्रे थेरी बियिकले २४औं मिनेटमा गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाएका थिए।

तर आशिष लामाले ४१औं मिनेटमा नवीन लामाको लामो पासमा गोल गर्दै एपीएफलाई १–१ बराबरीमा ल्याए। उनले नै ५३औं फ्रि किक प्रहार गोलमा परिणत गर्दै टोलीलाई २–१ को अग्रतामा राखेका थिए। आशिषको यो जारी लिगमा व्यक्तिगत पाँचौ गोलसमेत हो।

तर खेलको अन्तिम १० मिनेटमा सम्हालिन नसक्दा एपीएफले हार बेहोर्नु परेको थियो। योसँगै टोली ७ खेलमा ५ अंकसहित १३औं स्थानमा रहेको छ। पुछारको टोली सरस्वती पराजित हुँदा विभागीय टोलीलाई राहत भने मिलेको छ। यस सिजनको लिगबाट एउटै मात्रै टोली रेलिगेसन हुने प्रावधान रहेको छ।

अर्को खेलमा फ्रेन्डस्को जितमा उत्तम राईले दुई गोल तथा साउलो डी अक्विनो र वाग्नर डी कार्मोले गोल गरेका थिए। सरस्वतीको तर्फबाट ८०औं मिनेटमा काजिम एडेगोक बुसारीले एक गोल फर्काएका थिए। उत्तमले खेलको पाँचौं मिनेटमै गोल गरेर फ्रेन्डस्का लागि जितको बाटो खोलिदिएका थिए।

यसपछि दुई विदेशी खेलाडी अक्विनो र कार्मोले क्रमशः २४औं र ७०औं मिनेटमा गोल गर्दै टोलीको जित सुनिश्चित पारे। यस्तै उत्तमले ८७औं मिनेटमा अर्को गोल थपेका थिए।

योसँगै फ्रेन्डस्ले जारी लिगमा दोस्रो जित हात पारेको छ। साथै ७ खेलमा ८ अंक जोडेको टोली शीर्ष दश भित्रसमेत समेटियो।

सरस्वतीले भने लगातार निरासजनक नतिजा बेहोर्दै रेलिगेसनमा पर्ने संभावनालाई बलियो बनाउँदै लगेको छ। सात चरणको खेलसम्म पनि सरस्वतीले जित हात पार्न सकेको छैन। टोली १ अंकसहित पुछारमा रहेको छ।

तस्वीर : उजोल डंगोल

प्रतिक्रिया दिनुहोस्