मधेशका सहिदहरुको सम्झनामा मनाईयो बलिदानी दिवस



सुभेन्द्र दास, लहान ।

१३औं बलिदानीको अवसरमा मधेशवादी दलले आज माघ ५ गते मधेशका सहिदहरुको सम्झनामा विभिन्न कार्यक्रम गरी बलिदानी दिवस मनाएका छन्। बलिदानीको अवसरमा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादब र प्रदेश २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादबसहितका नेताहरुले सिरहाको लहानस्थित शहीद चोकमा रहेको शहीद रमेश महतोसहितको शालिकमा माल्यार्पण गरेका छन् ।

अध्यक्ष यादब र मन्त्री यादबले शहिदको सपना पुरा गर्न अझै संघर्षरत रहेको बताउदै उनीहरुले सहिदको सपना पुरा गरेरै छाड्ने प्रतिवद्धता व्यक्त गरेका छ्न। बलिदानीको अवसरमा मन्त्री विजय यादब ले सिरहाको लहानस्थित स्मारक अस्पताल लहानका बिरामीहरुलाई फलफूल वितरण गरेका छन।

त्यस्तै,प्रदेश २ सरकारले वीरगन्जमा आज शहिद परिवारहरुलाई सम्मान गर्ने कार्यक्रम गरेका छन। राजपा नेपालले भने बलिदानी दिवसको अवसरमा लहानमा प्रभातफेरी कार्यक्रम गरेका छन। त्यस्तै वलिदानी दिवसको अवसरमा आज डा. सिके राउत नेतृत्वको जनमत पार्टीले सिरहाको नवराजपुर गाउँपालिकामा कार्यक्रमको आयोजना गरेको थियो ।

प्रदेश २ सरकारले बलिदानी दिवसको अवसरमा आज सार्वजनिक विदासमेत दिएको थियो । २०६३ साल माघ ५ गते भएको मधेस आन्दोलनका क्रममा शहिद भएका सिरहा मझौराका विद्यार्थी रमेश महतो को सम्झनामा हरेक वर्ष मधेशवादी दलले माघ ५ गते लहानमा बलिदानी दिवस मनाउने गर्छ ।

प्रतिक्रिया दिनुहोस्