ब्याडमिन्टन सामग्री हस्तान्तरण



नेपाल समाचारपत्र, काठमाडौं।

जापानी सरकारको ‘स्पोर्ट्स फर टुमरो’ कार्यक्रमअन्तर्गत बुधबार निप्पन ब्याड्मिन्टन संघले नेपाल ब्याड्मिन्टन संघलाई खेल सामग्री उपलब्ध गराएको छ।

जापानी राजदूतावासमा एक कार्यक्रमबीच जापानका परराष्ट्र मन्त्रालयका उपमन्त्री नोरिहिरो नाकायामाले बुधबार नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठलाई ब्याड्मिन्टन र्याकेट उपलब्ध गराउनुभयो।

स्पोर्ट्स फर टुमरो, टोकियो ओलम्पिक्स र पारालम्पिक्स २०२० को प्रवद्र्धन परियोजना हो। यसअन्तर्गत जापान सरकारले सन् २०२० मा टोकियो ओलम्पिक सुरु हुँदा सम्म एक करोडभन्दा बढीलाई खेलमार्फत् सहयोग गर्ने लक्ष्य लिएको छ।

निप्पन ब्याड्मिन्टन संघले ८० ब्याड्मिन्टन र्याकेट प्रदान गरी नेपालको ब्याड्मिन्टनलाई सहयोग गरेको हो। सो अवसरमा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले नेपाली ब्याड्मिन्टनलाई सहयोग गर्न पाउँदा खुशी व्यक्त गर्नुभयो।

यसैगरी नेपाल ब्याड्मिन्टन संघका अध्यक्ष श्रेष्ठले जापानले नेपालका ब्याड्मिन्टन खेलाडीलाई सम्झेर सहयोग गरेकोमा धन्यवाद दिनुभयो।

प्रतिक्रिया दिनुहोस्