प्रिस्कालाई स्वर्ण



काठमाडौं, (नेस)।

द गोर्खाजकी प्रिस्का मगरले दोस्रो एभरेष्ट राष्ट्रिय खुला तेक्वान्दो प्रतियोगिताको महिला क्याडेट १२–१४ वर्षको १८ केजीमुनि बिहीबार स्वर्ण जितेकी छन्। फाइनलमा प्रिस्काले इसीडिसीकी पुष्पाञ्जली बस्नेतलाई पराजित गरिन्।

यु–१२ महिला पुम्सेको हरियो पेटीमा खोटाङकी आशिका तामाङ, रातो पेटीमा चितवनकी आँचल बजगाईं र कालो पेटीमा कोटेश्वरकी सन्ध्या लामाले शीर्ष स्थान हात पारे।

अमेरिकामा मुख्यालय रहेको एभरेष्ट वल्र्ड क्लास तेक्वान्दोको नेपाल शाखाद्वारा आयोजित प्रतियोगिताको महिला २४ केजीमुनि बुटवलकी अनुष्का तामाङ तथा २२ केजीमुनि ढल्कुकी याञ्चेन लामा पहिलो भए।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा भएको पुरुष २४ केजीमुनि निजगढका प्रशान्त कुँवर, २६ केजीमुनि लैनचौरका सुगम भुजेल, २८ केजीमुनि युनाइटेडका निशान्त श्रेष्ठ, २० केजीमुनि दिलिप स्मृतिका तनिश बस्नेत र १८ केजीमुनि गोदावरीका सफल महर्जनले पहिलो स्थान हात पारे।

यु–१२ पुरुष पुम्सेको हरियो पेटीमा लैनचौरका अनिश लामा, रातो पेटीमा कोटेश्वरका यज्ञ राई, कालो पेटीमा गोदावरीका श्रृजल श्रेष्ठ र हरियो पेटीमा सीतापाइलाका आयुश सुयाल पहिलो बने।

प्रतिक्रिया दिनुहोस्