पुलिस र आर्मी उपाधि भिडन्तमा



काठमाडौं, (नेस)।

जारी मनमोहन स्मृति राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल पुलिस क्लबले बिहीबार फाइनलमा स्थान सुरक्षित गरेको छ।

योसँगै पुलिसले उपाधि भिडन्तमा अर्को विभागीय टोली नेपाल आर्मी क्लबसँग प्रतिस्पर्धा गर्ने तय समेत गर्यो। पुलिसले इनरुवामा भएको सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ९९ रनले हराएको हो।

टोलीले २ सय ३० रनको बलियो चुनौती पेस गरेको थियो। तर प्रदेश टिम भने ३३.४ ओभरमा अलआउट हुँदैं १ सय ३० रनमा समेटिएको थियो। टोलीका लागि किरण ठगुन्नाले सर्वाधिक ३९ रन जोडेका थिए।

अन्य खेलाडी भने जम्न नसक्दा पुलिसले सहजै जित हात पार्न सफल भएको थियो।पुलिसलाई जित दिलाउन सागर ढकालले घातक बलिङ गरेका थिए।

प्लेयर अफ द म्याच घोषित भएका सागरले ६ दशमलब ४ ओभरमा १ मेडन राख्दै ९ रन खर्चेर ५ विकेट हात पारेका थिए। यस्तै ललितनारायण राजवंशीले ७ ओभरमा ३ विकेट लिन २३ रन दिएका थिए। अन्यमा योगेन्द्रसिंह कार्की र ललित सिंह भण्डारीले १/१ विकेट हासिल गरे।

यसअघि टस जितेर ब्याटिङ रोजेको पुलिसले ४९ ओभरमा सबै विकेट गुमाएर २ सय २९ रन बनाएको थियो। टोलीका लागि दिपेन्द्रसिंह ऐरीले शानदार ६८ रन बनाएका थिए।

उनले ७६ बला ६ चौका र १ छक्का प्रहार गरेका थिए। त्यस्तै बलर ललितले ४० बलमा ४० रन, अनिल साहले ३१ रन र योगेन्द्रसिंहले २९ रन जोडेपछि टोली बलियो योगफलतिर अग्रसर भएको थियो।

ललितले ४ छक्का प्रहार गरेका थिए। सुदूरपश्चिमको तर्फबाट शेर मल्ल, विनोद लामा र आकाश चन्दले ३/३ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्